किम जोङ –बारे दिएको बयानलाई लिएर माफी नमाग्ने पूर्व सभासद योगेन्द्र राईको दावी

खरसाङ: गोजमुमो बिमल खेमा खरसाङ महकुमा समितिको एउटा सभा महकुमा अध्यक्ष प्रदीप मगरको अध्यक्षतामा गोर्खा जन पुस्तकालय भवनमा आज सम्पन्न भयो। सभामा पार्टी अध्यक्ष बिमल गुरूङको घर वापसीको विषयमा चर्चा परिचर्चा गरियो। सूरज छेत्रीले स्वागत वक्तव्य राखेपछि सभालाई सम्बोधन गर्दै पूर्व सभासद योगेन्द्र राईले दावी गरे अनुसार अनित थापाले आफै पुलिसलाई पक्राउने गर्थे भने आफै निकाल्ने पनि गर्थे। यसैले तिनको प्रवृतिलाई देखेर आफूले किमजोङ भनेको बताए। तिनले अझ भने, नमस्ते नगरे अनित थापाले पक्राइ हाल्थे अनि फोन समेत हेर्ने गर्थे। यस्तालाई किम जोङ् नभनेर के भन्ने? साथीहरूले माफी माग्नु भन्दैछन्‌ म कहाँ माफी माग्छु, माग्दिनँ। हामी गन्धीवादी हौँ, गान्धीवादीले एउटा गालामा हिर्काउदा अर्को गाला पनि थाप्ने गर्छन्‌ तर दुईवटै गालामा हिर्काए त्यसपछि के गर्ने भन्ने सोच्नुपर्ने विषय रहेको छ। यसैगरी, गोजमुमो केन्द्रीय समिति सहसचिव विमल दर्जीले सभालाई सम्बोधन गर्दै किम जोङ भएर राजनीति गर्ने समय अब गयो। अब किम जोङको नीति पहाड़मा चल्न सक्दैन। पार्टी चलाउनको निम्ति समष्टि, शाखाहरूसित राम्रो सम्बन्ध र व्यवहार हुनपर्छ भनी बताए। सभामा गोजमुमो केन्द्रीय समिति सहसचिव विमल दर्जी, केन्द्रीय सदस्य शरण देवान, सत्यवान छेत्री, नारी केन्द्रीय समिति सदस्य जशु रसाइली, कमला लेप्चा, गोजमुमो महकुमा समिति सचिव सूरज छेत्री, महकुमा समिति प्रवक्ता दिपेन्द्र देवान, प्रचार प्रसार सचिव विकास खवास, पुकार राई, कोषाध्यक्ष सुनिल राई, पूर्व सभासद योगेन्द्र राई, पूर्व महकुमा समिति महासचिव रोहित स्याङ्‌बो, पूर्व सभासद प्रभा छेत्री, गोजमुमो खरसाङ महकुमा प्रभारी दिपेन्द्र निरौला, गोजमुमो टाउन कमिटी सचिव सोनाम लामा, सकुन लामा अनि अन्य उपस्थित थिए। सभामा खरसाङ महकुमा अन्तर्गतका 8 वटा समष्टिका गोजमुमो संयोजक अनि प्रतिनिधिहरू पनि उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *