किसान कङ्ग्रेस मोर्चाद्वारा मतिगढा थाना घेराउ 

सिलगढी गत 2 फरवरीमा सिलगढीको मतिगढास्थित बालासन ब्रिज संलग्न फर्निचर दोकान अघि आगो तापिरहेको समय घाइते भएका दोकानका कर्मचारी विश्वजीत रायलाई न्याय दिलाउने मागमा आज दार्जिलिङ जिल्ला किसान कङ्ग्रेस मोर्चा र घाइते व्यक्तिको परिवारका सदस्यहरूले मतिगढा थाना घेराउ गरेर विरोध प्रदर्शन गरे। यसको साथै एउटा ज्ञापन पत्र पनि चढाए। घाइते विश्वजीत रायका परिवारले दिएको जानकारी अनुसार गत 2 फरवरीमा आगो तापिरहेको समय दोकान मालिकले उक्त आगोमा ज्वलनशील पदार्थ हालिदिँदा विश्वजीत राय पूर्ण रूपमा जलेको बताइएको छ। यसपछि स्थानीय मानिसहरूको सहयोगमा तिनलाई हिमाचल बिहारस्थित एउटा नर्सिङ होममा भर्ना गरेपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्। दोकान मालिकले हाल कुनै प्रकारको सहयोग नगरेको साथै नर्सिङ होमको बील 11 लाख रुपियाँ भएको बताइएको छ। अर्कोतिर, गत 5 फरवरीमा दोकान मालिकविरुद्ध थानामा प्राथमिकी दर्ता गराए तापनि पुलिसले कुनै कार्वाही नगरेको परिवारका सदस्यहरूको आरोप रहेको छ। दार्जिलिङ जिल्ला किसान कङ्ग्रेस मोर्चाका महासचिव माधव सिङ्घोले बताएअनुसार घाइते विश्वजीत रायलाई न्याय दिलाउने मागमा आज थाना घेराउ गरिएको हो। पुलिसले यस मामिलाको उचित कार्वाही गर्ने आश्वासन दिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *