केएलओ चीफ जीवन सिंहको नजिकका 2 जना पक्राउ, सिलगढी अदालतबाट 12 दिनको हिरासतमा

सिलगढी (निसं):एसटीएफ-ले कोकराझारबाट उग्रवादी सङ्गठन केएलओ प्रमुख जीवन सिंहको नजिकका मानिने दुई जना व्याक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने कोएलओ सदस्यहरू उत्तम राय (24) र निर्मल दास (28) सामेल छन्। एसटीएफ सूत्र अनुसार गत 4 जूनको दिन असममा एकजना व्यवसायी सुनील मण्डललाई पैसा नदिएपछि गोली हिर्काएको थियो। यस वाहेक अन्य एकजना व्यवसायीसित रूपियाँको माग गरिएको थियो। व्यवसायीलाई गोली चलाएको काण्डमा कोकराझार जिल्ला अन्तर्गत शेरफांगगुढी थाना पुलिसले उत्तम राय र निर्मल दासलाई गत 5 जूनमा पक्राउ गरेको थियो। पक्रा पर्नेहरू दुवै जना हाल कोकराझार जेलमा न्यायिक हिरासतमा छन्।


अर्कोतिर, उग्रवादी सङ्गठन केएलओ-का दुई जना सदस्य उत्तम राय र निर्मल दासले उत्तर बंगालमा पनि विभिन्न व्यवसायीहरूलाई पैसाको डिमान्ड गरेको कुरा एसटीएफ-ले पत्तो पाइसकेको थियो।  व्यवसायीहरूलाई बारम्बार पैसा दिनेबारे दबाउ समेत दिइरहेको थाहा पाएपछि एसटीए-को एउटा टीम असम कोकराझार पुगेर उत्तम राय र निर्मल दाससित सोधखोज गरे। यसपछि एसटीएफ-ले दुवै जनालाई तत्कालै पक्राउ गरेर कोकराझार अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा लिएर गत राति सिलगढी ल्याइपुऱ्याइएको छ। यसपछि आज केएलओ आतङ्वादी उत्तम राय र निर्मल दासलाई सिलगढी अदालतमा पेश गरेर 12 दिनको न्यायिक हिरासतमा लिएको छ। 

यस विषयमा एसटीएफ-का डीएसपी सुदीप भट्टाचार्यले भने, पक्रा परेका उत्तम राय र निर्मल दास उग्रवादी सङ्गठन केएलओ-का सक्रिय सदस्य हुन्। यी दुवैले मुख्य रूपमा केएलओ-को लागि फन्ड अनि नयाँ नयाँ युवाहरूलाई सामेल गर्ने गर्दथे। पक्रा परेका यी दुवै केएलओ-का चीफ जीवन सिंहका नजिकका व्याक्तिहरू हुन्। केही समय अघि सिलगढीबाट तीन जना केएलओ सदस्यलाई अलग-अलग समयमा पक्राउ गरेको थियो। यस मामिलामा एसटीएफको जाँचमा यी दुईजनाको नाम सामु आएको थियो। यसपछि असममा गत 4 जूनको दिन एकजना व्यवसायीलाई गोली हिर्काएको घटना घटेको थियो। उक्त घटनामा असम पुलिसले यी दुई जनालाई पक्राउ गरेको थियो। तिनले अझ बताए अनुसार सिलगढीबाट कुन-कुन व्यवसायीहरूलाई पैसाको  डिमान्ड गरेको थियो अनि कतिजना युवकलाई केएलओ-मा सामेल गरियो भन्ने बारे सोधखोज गर्नको लागि नै दुवैलाई पक्राउ गरेर सिलगढी ल्याइएको छ। आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरेर 12 दिनको रिमान्डमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *