कोदालोले प्रहार गरेर स्वास्नीको हत्या गर्ने लोग्ने पक्राउ

राजगञ्ज : कोदालोले प्रहार गरेर स्वास्नीको हत्या गर्ने लोग्नेलाई पुलिसले पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। उक्त घटना राजगञ्जको पनीकौरी ग्राम पञ्चायत अन्तर्गत युगनीडाङ्गा इलाकामा हिजो साँझ घटेको हो। मृतक महिलाको नाम कनिका राय बताइएको छ। प्राप्त जानकारीअनुसार भोला राय र कनिका राय चियाकमानका श्रमिक हुन्। दुई दम्पतिको दुई छोरा र एउटी छोरी छन्। ठुलो छोरा र छोरीको बिहे भइसकेको छ। समय समयमा ती दुई लोग्ने स्वास्नीमाझ झगडा हुने गर्दथ्यो। हिजो साँझ पनि तिनीहरूमाझ झगडा हुँदा लोग्ने भोलाले कोदालोले स्वास्नीमाथि हमला गर्यो। त्यस समय घरमा कोही थिएन। घटनापछि स्थानीय मानिसहरूले घाइते अवस्थामा कनिकालाई तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर आरोपी लोग्नेलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको छ। आरोपीको भाइ चन्दन रायले बताएअनुसार दाजु समय समयमा केही कारणले गर्दा रिसाउने गरेको साथै भाउजुलाई शङ्का गर्ने गर्दथे। केही महिनादेखि दाजुको मानसिक अवस्था ठिक नरहेकोले तिनको उपचार चलिरहेको छ। हिजो घरमा कोही नभएको समय दाजुले भाउजुलाई कोदालोले प्रहार गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *