कोलकाताको होटलबाट भेट्टाइयो सिलगढीको व्यवसायी परिवारका 3 सदस्यको शव

सिलगढी : सिलगढीको 40 नम्बर वार्डस्थित प्रणामी मन्दिर रोड निवासी एकै परिवारका 3 जना सदस्यले आत्महत्या गरेको घटना प्रकाशमा आएपछि इलाकामा शोकको लहर छाएको छ। प्राप्त जानकारीअनुसार कोलकाताको एउटा होटलको कोठाबाट 3 जनाको शव सहित एउटा सुसाइट नोट पनि पुलिसले उद्धार गरेको छ। सिलगढीको 40 नम्बर वार्डको एउटा अपार्टमेन्टमा सुनित बन्सल, तिनका बाबा सुशील बन्सल र आमा चन्दा देवी बन्सल बस्दै आइरहेका थिए। लगभग डेढ महिना अघि सुनित बन्सल तिनको स्वास्नी, दुईजना नानी र आमा-बाबालाई लिएर कोलकाता गएका थिए। छोराको उपचारको लागि सपरिवार कोलकाता गएकोबारे अपार्टमेन्टका मानिसहरूलाई तिनले बताएका थिए। आज घटनाको खबर पाएर अचानक पुलिस तिनीहरूको सिलगढीस्थित अपार्टमेन्टमा आएर छानबीन गर्दा स्थानीय छिमेकीहरूले सुनित बन्सल र तिनका आमा-बाबुले आत्महत्या गरेकोबारे थाहा पाए। के कारणले गर्दा तिनीहरूले आत्महत्या गरेको हो भन्नेबारे हालसम्म थाहा नलागेको बताइएको छ। अर्कोतिर, अपार्टमेन्टका म्यानेजरले बताएअनुसार केही दिनअघि ब्याङ्कका केही कर्मचारीहरू तिनलाई खोज्दै अपार्टमेन्टमा आएका थिए। सुनित बन्सलले ब्याङ्कबाट लोन लिएकोले गर्दा उक्त लोनको रुपियाँ भुक्तान नगरेपछि ब्याङ्कका कर्मचारीहरूले तिनलाई खोज्दै यहाँ आएका थिए। सुनित बन्सललाई नभेटेपछि ब्याङ्क कर्मचारीहरू फर्किए। सिलगढी पुलिस कमिश्नरेटको तर्फबाट उक्त परिवारका आफन्तहरूसित सम्पर्क गर्ने प्रयास गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *