खरसाङको टी रिसर्च सेन्टरका श्रमिकहरूले वेतन र बोनस नपाएपछि धरना प्रदर्शन

खरसाङ (निसं): खरसाङमा अवस्थित टी रिसर्च सेन्टरमा श्रमिकहरूले वेतन र बोनस नपाएपछि आज कार्यालयमा धरना प्रदर्शन गरे। भारत सरकारको उद्योग अनि वाणिज्य मन्त्रालय अन्तर्गत खरसाङको पंखाबारी रोडमा रहेको टी बोर्ड अफ् ईण्डियाको दार्जिलिङ टी रिसर्च एण्ड डेभलोपमेन्ट सेन्टरमा कार्यरत् श्रमिकहरूले दुईपल्ट पन्ध्रको वेतन र बोनस पनि नपाएकोले आज श्रमिकहरूले बिहानदेखि धरना प्रदर्शन गर्दै नाराहरू लगाए। श्रमिकहरूले टी रिसर्च सेन्टरमा आएर वेतन र बोनस नपाएको विषयमा सेन्टरको ईन्चार्ज तथा चिया विकासको उप निर्देशक अनुपम दाससित भेटेर कुराकानी गरे। सन् 1976 सालदेखि नै खरसाङको यो सेन्टरमा चिया विषयमा रिसर्च हुँदै आएर 1981 सालमा यस सेन्टरको भवन तत्कालीन भारतको उद्योग एवं वाणिज्य मन्त्री प्रवण मुखर्जीद्वारा उदघाटन गरिएको थियो। यहाँ 2015-16 सम्म रिसर्चको काम गरिने भए पनि एनजेपीमा सेन्टर बनिएपछि उतै रिसर्चको काम हुँदै आएको बताइएको छ। खरसाङमा रहेको यस सेन्टरमा वर्तमानमा 20 जना श्रमिकहरू, 3 जना स्टाफहरू, अस्थायी श्रमिकहरू 18 जना र कर्मचारीहरू पनि रहेको बताइएको छ।


यस टी रिसर्च सेन्टरका श्रमिकहरूले वेतन र बोनस, लगायत मेडिकल साहुलियत, पीएफ-को समस्या रहेको साथै अवकाशप्राप्त भएपछि बद्लीमा कसैलाई पनि नोकरीमा काम नदिएको आरोप रहेको छ। त्यसरी नै अवकाश भएपछि पाउनु पर्ने पैसा पनि नपाएको बताइएको छ। यस विषयमा श्रमिकहरूका पक्षमा नारायण तामाङ र अमीत तामाङले पत्रकाहरूसित कुराकानी गर्दै विस्तृत रूपमा बताएका छन्। सेन्टरका श्रमिकहरूले वेतन र बोनस नपाएको विषयमा सेन्टरको ईन्चार्ज तथा चिया विकासको उप-निर्देशक अनुपम दाससित पनि भेटेर कुराकानी गर्दा तिनले श्रमिकहरूले सेप्टेम्बर महिनासम्म पाएको र अक्टोबर महिनाको दुईवटा पन्ध्रको वेतन नपाएको बताउँदै यस विषयमा आफुले लेखेर पठाएको र कुनै पनि समय कोष आउने बताएका छन्। यस सेन्टरका श्रमिकहरूको समस्या विषयमा दार्जिलिङका सांसद राजु विष्टको प्रतिनिधिको रूपमा भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामा र खरसाङ गिध्द पहाड़ मण्डलको सभापति निशान सुनावर उपस्थित भई श्रमिकहरूको समस्या बुझेको र सेन्टरको ईन्चार्ज तथा चिया विकासको उप निर्देशक अनुपम दाससित पनि भेटेर कुराकानी गरे। यस विषयमा भाजपा जिल्ला सचिव सोनाम लामाले पत्रकारहरूसित कुराकानी गर्दै यस समस्या बुझ्नलाई सांसदले पठाएको र यस विषयमा सांसदलाई लिखित रूपमा जानकारी गराउने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *