खरसाङ क्षेत्रमा परेको असिना पानीले जाडो बढ्नको साथै जनजीवन अस्तव्यस्त

खरसाङ: खरसाङ क्षेत्रमा आज अपरान्हतिर परेको असिना पानीले जाड़ो बढ्नुको साथै जनजीवन अस्त व्यस्त रहेको छ। दिउँसो लगभग 1 बजेदेखि परेको पानीले खरसाङ बजारमा रहेको नालीहरूमा मैला पानीको प्रवाह बेसी देखियो। अचानक परेको पानीले मैला कुँचेलाहरू बगाएर ल्याई नालीहरू पानीले भरिएपछि सड़कभरि पानी बगेर धेरै असुविधा बनाएको थियो। लगभग एक घण्टासम्म परेको पानीले सड़कभरि मैला पानी बगेर केही क्षण गाड़ीहरू कुदाउन धेरै असुविधा भएको थियो। अर्कोतिर पानीसितै परेको असिना पानीले पनि खरसाङ क्षेत्रलाई अस्तव्यस्त बनाएको थियो।


विशेष गरी खरसाङ बजार क्षेत्रमा असिना केही कम परे पनि खरसाङको गिद्धे पहाड़, जिरोदेखि उता रोहिणी रोड, बरबुङ क्षेत्र र महानदीतिर र यसको संलग्न क्षेत्रतिर भने असिना निक्कै बेसी परेर सड़क अनि घरहरू सेताम्मे बनाएको छ। असिना पानी परेर खरसाङ क्षेत्रमा जाड़ो ह्वात्तै बढ़ेर गएको छ। गिद्धे पहाड़, महानदी, बरबुङ क्षेत्रतिर मानिसहरू असिनामा खेलिरहेको पनि देखियो। अचनाक परेको असिना पानीले मानिसहरूलाई निक्कै उत्साहित बनाएको छ भने जाड़ो अझ बढ़ेर गएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *