खरसाङ गिद्ध पहाड़ समष्टिमा अनित थापाको पक्षमा चुनावी सभा, गोजमुमो छोडेर 60 परिवार पार्टीमा सामेल

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ गिद्ध पहाड़ समष्टिका प्रार्थी पार्टी अध्यक्ष अनित थापाको पक्षमा आज 29 नम्बर समष्टि अन्तर्गत गिद्ध पहाड़मा चुनावी सभा सम्पन्न भयो। उक्त चुनावी सभामा पार्टी अध्यक्ष तथा प्रार्थी अनित थापा आफै पनि उपस्थित थिए। उक्त सभामा खरसाङको गिद्ध पहाड़ क्षेत्रका गोजमुमो-को 60 परिवारले पार्टी त्यागेर भागोप्रमो-मा सामेल भए। सामेल हुनेहरूमा गोजमुमो खरसाङ महकुमा समितिको सह सचिव एवम् गिद्ध पहाड़ खण्ड समितिको सभापति विवेक मोक्तान मुख्य रहेका छन्। तिनकै नेतृत्वमा गिद्ध पहाड़ क्षेत्रबाट गोजमुमो त्यागेर 60 परिवारहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा समर्थन जनाएका छन्।


पार्टीमा सामेल हुनेहरू सबैलाई पार्टीको अध्यक्ष अनित थापाले पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाए। भागोप्रमो-मा सामेल भएपछि विवेक मोक्तानले भने, म कुनै पार्टीलाई देष्याउनु चाहदिनँ तर गिद्ध पहाड़लाई विकासित गराउनलाई व्यवहारिकताको राजनीति पनि गर्नु पर्ने रहेछ,त्यसैले म गोजमुमो त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको हुँ। भागोप्रमो अध्यक्ष अनित थापाको पक्षमा लगातार रुपमा खरसाङ गिद्ध पहाड़ समष्टिमा चुनावी सभाहरू भइरहेको छ र आज पनि अनित थापाको उपस्थितिमा समष्टीको सभापति पेमेन्द्र गुरुङको सभापतित्वमा र गिद्ध पहाड़को सचिव दिपेन मोक्तानको सञ्चालनमा सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै प्रार्थी अनित थापाले गिद्ध पहाड़मा एकता भएपछि विकास भएर जानेछ भन्दै काम गर्ने मान्छेको गल्ती हुन्छ तर गल्ती दोहोराउनु हुँदैन भनी बताए। तिनले चुनाउमा भोट दिएर जिताए मेरो जीत होइन तर गिद्ध पहाड़को जीत हुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *