खरसाङ गोर्खा जनपुस्तकालयमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालन

खरसाङ : भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्तकालयको आयोजनामा खरसाङमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालन गरियो। गोर्खा जनपुस्तकालयको पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न अन्तराष्ट्रिय मातृभाषा दिवस समारोहमा सभाध्यक्षको रूपमा गोर्खा जनपुस्तकालयका सभापति पूर्ण गुरुङ निरूपम अनि मुख्य अतिथिको रूपमा  सिक्किम विश्वविद्यालयको नेपाली विभागकी प्रमुख डा. कविता लामा उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा समाजसेवी तिलक शर्मा, वरिष्ठ साहित्यकारहरू जीवन बान्तावा, अमर दुङमाली, आशा मुखिया लामा, आकाशवाणी खरसाङका कार्यक्रम प्रमुख पारसचन्द्र आले उपस्थित थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ठ अतिथिहरूले धुप दीप प्रज्ज्वलन गरेपछि शुरू गरिएको कार्यक्रममा स्वागत सम्भाषण पुस्तकालयका मूल सचिव विनोद रसाइलीले राखेका थिए। कार्यक्रमको शुरुमा दिवङ्गत भाषा सङ्ग्रामीहरूलाई स्मरण गर्दै मौन धारण गरियो। कार्यक्रममा शरद राई, सरिता समदर्शी, महेन्द्र स्याङ्बो, मनोज बोगटी, लेखनाथ छेत्री, बालकृष्ण थामी आदिले गीत, गजल र कविता वाचन गरे। कार्यक्रममा सभाध्यक्ष पूर्ण गुरुङ निरूपमले अन्तर्राष्ट्रिय मातृभाषा दिवसमाथि प्रकाश पार्दै वक्तव्य राखेका थिए। त्यसरी नै मुख्य अतिथि डा. कविता लामाले हामी नेपाली भाषा बोल्छौं भन्ने केवल देखावटी मात्रै भइरहेको छ, केवल एक दिन मात्रै मातृभाषा दिवस पालन गरेर हुँदैन तर सबैले आफ्नो घरमा नेपाली भाषा नै व्यवहारिक रूपमा प्रयोग गर्ने आह्वान् गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *