खरसाङ गौरी शंकरका सहिद विधान राई पञ्चतत्वमा विलीन

खरसाङ (निसं) : मणिपुरको नोनीमा गएको पैह्रोमा प्राण गुमाएको खरसाङको गौरी शंकर निवासी सहिद विधान राईको आज सैनिक सम्मानको साथमा अन्तिम संस्कार गरियो। विधान राईको परिवारका सदस्यहरूले तिनलाई दागबत्ती दिएर अन्तिम विदाई दिए। सेनाद्वारा सहिद विधान राईलाई श्रद्धाञ्जलि अर्पण गर्दै सलामी दिइएको थियो भने राई परम्परा अनुसार अन्तिम संस्कार गरियो। खरसाङको वीर सैनिक सहिद विधान राईलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नलाई मानिसहरूको निक्कै भीड़ देखियो।


 

स्थानीय मानिसहरूसितै खरसाङ महकुमा शासक आईएएस एजाज अहमद, खरसाङ पुलिस थानाका आईसी निबेन्दु सरकार लगायत अन्यहरू उपस्थित थिए। स्मरण रहोस्, गत 29 जूनमा मणिपुरको नोनीमा गएको भीषण पैह्रोमा खरसाङको गौरी शंकर निवासी विधान राईले प्राण गुमाएका थिए। तिनको पार्थिव शरीर हिज हवाई मार्ग भएर बाघडुग्रा अनि त्यसपछि बेङ्गडुबीस्थित सैनिक छाउनीमा ल्याएर सैनिक सम्मानसहित श्रद्धाञ्जलि अर्पण गरेपछि तिनको पैतृक थलो ल्याइएको थियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.