खरसाङको सिविटार क्षेत्रमा पहिरो, सडक तथा घरहरू क्षतिग्रस्त

खरसाङ : अर्कोतिर, खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारी क्षेत्रमा रातदेखि आज बिहानसम्म परेको पानीझरीले विभिन्न क्षेत्रहरूमा पनि पैह्रो गएको छ। पैह्रोले धेरै जनाको घर क्षतिग्रस्त बनाएको छ भने सिविटार चियाबारीमा नव निर्मित सड़कलाई पैह्रोले अवरुद्ध गरेको छ। बनिन्दै गरेको सड़कको धेरै भागहरूमा पैह्रोले सड़क क्षतिग्रस्त बनाएको छ भने सड़कको छेउ-छाउतिर रहेको घरहरू पनि पैह्रोको चपेटमा आएको छ। महानदी ग्राम पञ्चायतको सिविटारमा विपन छेत्रीको घर पैह्रोले छोपेको छ भने गाईको गोठ पनि पैह्रोले लगेको छ। त्यसरी नै सिविटारकै कोपीबारीमा रहेको शिव मन्दिर परिसरमा पैह्रो गएर सड़कसितै मन्दिरको आधा भाग नै लगेको छ।


आज महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटारको तत्काल रिलिफ टीमको तर्फबाट बिहानै सडक तथा गाउँ क्षेत्रहरूको निरीक्षण गरेको छ। यस टीममा उत्तम छेत्री, दिलिप प्रधान, हेमराज छेत्री लगायत अन्यहरू उपस्थित भएर पैह्रोले गरेको क्षति विषयमा डाटा संकलन गरी ग्राम पञ्चायतमा बुझाउने कार्य गरिएको छ। यस विषयमा क्युआरटी (क्विक रिलिफ टीम)को तर्फबाट उत्तम छेत्रीले बिहानैदेखि हामीले पैह्रो गएको क्षेत्रहरूका निरीक्षण गरेको र अति नै आवश्यक रहेको मानिसहरूका लागि पञ्चायतबाट तारपोलिङ मगाएर छोप्ने व्यवस्था गरेको बताएका छन् ।
अर्कोतिर, तीनधारे महानदी समष्टीको सिमरिङ क्षेत्रमा पनि पैह्रो गएर जयराज राई, मिनु राई, रंगे राई र ईश्वरचन्द्र तामाङको घरहरू क्षतिग्रस्त बनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *