खरसाङमा अगमसिंह गिरीको 93औं जन्म जयन्ती पालन

खरसाङ: गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको आयोजनामा खरसाङमा जातीय कवि अगमसिंह गिरीको 93औं जन्म जयन्ती समारोह सम्पन्न भयो। विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिको आयोजनामा सम्पन्न गिरी जयन्ती समारोहमा सभाध्यक्षको रूपमा गोजमुमो केन्द्रीय प्रवक्ता केशवराज पोखरेल अनि प्रमुख अतिथिको रूपमा शिक्षा रत्न पुरस्कार प्रापक पङ्खाबारी उच्चत्तर माध्यमिक विद्यालयकी प्रधानाध्यापिका कल्पना प्रधान उपस्थित थिए। हेमन्त सुब्बाले सञ्चालन अनि स्वागत सम्भाषण गरेको समारोहमा जातीय कवि अगमसिंह गिरीको तस्वीरमा धुप दीप प्रज्ज्वलन गरी गीत, कविता, बाँसुरीको धुन, नृत्य आदि प्रस्तुत गरियो। समारोहमा कवि गिरीको विषयमा विद्यार्थी मोर्चा केन्द्रीय प्रवक्ता सागर शर्माले वार्ता प्रस्तुत गरेका थिए। कार्यक्रममा कविहरू नरेश कटुवाल, कृतिका दाहाल, कृतिका शर्मा लगायत अन्यहरूले कविता प्रस्तुत गरेका थिए।


यसै समारोहमा विद्यार्थी मोर्चाको तर्फबाट शिक्षा रत्न पुरस्कार प्रापक पङ्खाबारी उच्चत्तर माध्यमिक विद्यालयकी प्रधानाध्यापिका कल्पना प्रधानलाई सम्बर्द्धना जनाइयो। यस अवसरमा तिनलाई गोजमुमो खरसाङ महकुमा समितिका कार्यकारी सभापति समीरदीप ब्लोनको बाहुलीबाट खदा लगाइदिनको साथै फुल गुच्छा प्रदान गरेर शल ओढ़ाएर सम्वर्द्धना पत्र प्रदान गरी सम्मान जनाइयो। यसैगरी नै समारोहमा विद्यार्थी मोर्चाबाट नै राजनीति शुरु गरेर वर्तमानमा गोजमुमो केन्द्रीय प्रवक्ता रहेका केशवराज पोखरेललाई विद्यार्थी मोर्चा केन्द्रीय सभापति विश्वास गुरुङ र कार्यकारी सभापति भास्कर राईद्वारा सम्मान जनाइयो। कार्यक्रममा सभाध्यक्षको सम्भाषणमा गोजमुमो केन्दीय प्रवक्ता केशवराज पोखरेलले गोर्खा विचारधारा र गोर्खावादको शुरू गर्ने व्यक्ति अगमसिंह गिरी नै हुन् भनी बताए। आजको कार्यक्रम विषयमा विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिका महासचिव दयाराम शर्माले पत्रकारहरूलाई विस्तृत रूपमा जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *