खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीद्वारा आज यहाँको जन पुस्तकालयमा 43औं गोरामुमो पार्टीको स्थापना दिवस भव्य रुपमा पालन गरियो। कार्यक्रमको शुरूमा पार्टीको संस्थापक अध्यक्ष सुवास घिसिङको तस्वीरमा माल्य अर्पण गरेर तिनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे। ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षता पालन गरिएको स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथिका रूपमा केन्द्रीय समिति सेक्रेटरी जनरल एनबी छेत्री लगायत केन्द्रीय समितिका सदस्यहरु, भ्रातृ संगठनका सम्पूर्ण नेतृत्ववर्ग अनि कार्यकर्ताहरु उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै सेक्रेटरी जनरल एनबी छेत्रीले भने, 5 अप्रेल 1980 मा संस्थापक अध्यक्ष सुवास घिसिङले गोर्खाहरुको राजनैतिक, चिह्रारी अनि सुरक्षा हेतु जनचेतना जगाउनको निम्ति गोर्खाल्याण्ड नामकरण गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको स्थापना गरेका हुन्। 80-को दशकमा गोर्खाहरुलाई ठूलो समस्या आएको थियो किनभने भारतको उत्तर पुर्वी राज्यहरुबाट गोर्खाहरुलाई खेद्ने कार्य भइरहेको थियो।

यसलाई बचाउनको निम्ति घिसिङले ठूलो सङ्घर्ष गरेका थिए। यसैकारण 1986 सालमा गोर्खाल्याण्ड आन्दोलन भएको भएको थियो। यसपछि 22 अगस्त 1988 को दिन भारत सरकार, राज्य सरकार अनि सुवास घिसिङ माझ गोर्खा एकर्ड गरेर दार्जिलिङ गोर्खा पार्वतीय परिषद गठन गरेर गोर्खा शब्दलाई हालेर हाम्रो जातिको सुरक्षा भएको दिन हो। गोर्खाहरुलाई राजनैतिक जनचेतना जगाउनको निम्तो सुवास घिसिङले ठूलो सङ्घर्ष गर्नु परेको थियो भनी तिनले बताए। घिसिङकै योगदानले गर्दा आज हामी गोर्खा भनेर गर्व गर्छौ, गोर्खाल्याण्ड शब्दको जन्मदाता नै सुवास घिसिङ हुन् भनी एनबी छेत्रीले जनाए।
