खरसाङ महकुमा स्तरीय महिला फुटबल टुर्नामेन्ट 10 सेप्टेम्बरदेखि शुरू हुने

खरसाङ : खरसाङ फुटबल एसोसिएशनद्वारा चयन भएका अण्डर 20 र अण्डर 17 को महिला फुटबल खेलाड़ीहरूलाई आज एउटा कार्यक्रमबीच सम्मान जनाइयो। यस वाहेक, खरसाङ फुटबल एसोसिएशनको आयोजनामा सम्पन्न हुने महिला फुटबल टुर्नामेन्टको आज फिक्चर आउट गर्नुको साथै महिला फुटबल टुर्नामेन्ट विषयमा विविध जानकारी गराउन खरसाङ क्षेत्रका महिला फुटबल दलहरूलाई जमघट गरेर जानकारी दिने कार्य गरियो। खरसाङ फुटबल एसोसिएशनको आयोजनामा आगामी 10 सेप्टेम्बरदेखि खरसाङको मन्टिभियट खेल मैदानमा खरसाङ महकुमा स्तरीय महिला फुटबल टुर्नामेन्ट हुने भएको छ। उक्त महिला फुटबल टुर्नामेन्टमा खरसाङ महकुमाको 17 वटा दलले अंशग्रहण गरेको छ। पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ फुटबल एसोसिएशनको सभापति छिरिङ खाइबाले खरसाङ महकुमा स्तरीय महिला फुटबल टुर्नामेन्टको लागि आज फिक्चर आउट गर्नको साथै जर्सीहरू प्रदर्शन साथै खेलका नियमहरू विषयमा जानकारी गराएको बताएका छन्। यस महिला फुटबल टुर्नामेन्ट आयोजनाको मुख्य उद्देश्य खरसाङ महकुमा स्तरीय महिला फुटबल टीम चयन गरेर जिल्ला स्तरीय रुपमा लैजाने अनि त्यहाँबाट पनि अझ कोलकोतासम्म लगेर महिला फुटबल खेलाड़ीहरूलाई ठूलो मञ्च प्रदान गर्ने सोंच रहेको तिनले बताए। यस कार्यक्रममा खरसाङ फुटबल एसोसिएशनको सभापति छिरिङ खाइबा, कार्यकारी सभापति नर्बु शेर्पा, उप सभापति अर्जुन शर्मा, सचिव सुजित राई, तक्निकी निर्देशक क्रिस्पिन छेत्री, मुख्य सल्लाहकार प्रज्वल प्रधान, टुर्नामेन्टका संयोजक दावा दोर्जे, म्याच कमिश्नर रिचा छेत्री लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *