खरसाङ महकुमाको सिटोङ डायरी गाउँमा स्वच्छ पखवाड़ा स्वच्छ भारत अभियान कार्यक्रम

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सिटोङ ग्रामीण पर्यटन व्यवसायको क्षेत्रमा दार्जिलिङ जिल्लामै अग्रणी रुपमा अघि आएको छ । यसै सिटोङ ग्राम पञ्चायत एकको डायरी गाउँमा रहेको सिटोङ ईको ट्राभल्स वेलफेयर सोसाइटीको आयोजनामा आज स्वच्छ पखवाड़ा स्वच्छ भारत अभियान कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रम अन्तर्गत सिटोङ एकको डायरी गाउँलाई प्लास्टिकमुक्त गाउँ बनाउने कार्यलाई अघि बढ़ाइएको छ। प्लास्टिक मुक्त बनाउन सिटोङ ईको ट्राभल्स वेलफेयर सोसाईटीले निक्कै पहिलादेखि नै पहल थालेको थियो भने आजदेखि यस अभियानमा सबै लागी परेर कार्य गर्ने भएको छ। आजको स्वच्छ पखवाड़ा स्वच्छ भारत अभियान कार्यक्रम अन्तर्गत लोवर सिटोङको डायरी गाउँस्थित गोल घरमा सम्पन्न कार्यक्रममा सभाध्यक्षको रुपमा सिटोङ ईको ट्राभल्स वेलफेयर सोसाइटीका सभापति सन्ध्या आचार्य उपस्थित थिइन् भने प्रमुख अतिथिका रुपमा स्थानीय शिक्षक केबी छेत्री उपस्थित थिए। त्यसरी नै विशिष्ट अतिथिको रुपमा सिटोङ ईको ट्राभलर्स वेलफेयर सोसाईटीको सचिव एवम् पर्यटन व्यवसायी देवाशिष चक्रवर्ती, सिलगढी वेलफेयर अर्गनाइजेशनका सचिव ज्योतिर्मय पाल, फोरम फर् ह्युमानिटी गैर सरकारी संस्था सिलगढीको सन्जु रोय लगायत अन्यहरू उपस्थित थिए। सोसाइटीका सदस्य सञ्जीव छेत्रीद्वारा सञ्चालन गरिएको कार्यक्रममा सिटोङ क्षेत्रमा ग्रामीण पर्यटन व्यवसायलाई शुरु गर्ने व्यक्ति स्वर्गीय तितस लेप्चाको तस्वीरमा खदार्पण गरी कार्यक्रमलाई शुरु गरियो।


कार्यक्रममा सिटोङ क्षेत्रमा अहिलेसम्म भएको ग्रामीण पर्यटन व्यवसायको विवरण दिँदै पर्यटन र पर्यावरण विषयमा सचेतना गराए । तिनले दार्जीलिङ जिल्लाकै प्रथम प्लास्टिकमुक्त गाउँ सिटोङको डायरी गाउँ हुने बताए । कार्यक्रममा प्लास्टिकको विषयमा सिलगढी वेलफेयर अर्गनाइजेशनको सचिव ज्योतिर्मय पालले सचेतना गराएका थिए। त्यसरी नै कार्यक्रममा प्रमुख अतिथि केबी छेत्री र सभाध्यक्ष सन्ध्या आचार्यले पनि कार्यक्रमलाई सम्बन्धित विषयमा सम्बोधन गरे। लोअर सिटोङको डायरी गाउँ क्षेत्रहरूमा सिटोङ ईको ट्राभल्स वेलफेयर सोसाइटीको तर्फबाट प्लास्टिकमुक्त गाउँ बनाउन पहिलेबाटै ठाउँ ठाउँमा र बाटोतिर डस्टबिनको सट्टा डोकोबिन राखिएको छ भने अब छिट्टै लोअर सिटोङको डायरी गाउँलाई प्लास्टिकमुक्त गाउँ बनाउनेतर्फ गाउँ मिलेर नै लागी पर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *