खरसाङमा हिल तृणमूल कङ्ग्रेसको सांगठनिक सभा सम्पन्न

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत टाउन कमिटी अध्यक्ष आरीफ खानको अध्यक्षतामा हिल तृणमूल कङ्ग्रेसको सभा आज सम्पन्न भयो। सभामा विशेष हिल तृणमूल कङ्ग्रेसको जिल्ला उपाध्यक्ष प्रदीप प्रधान, कोर कमिटी सदस्य डा. रोहित शर्मा, टाउन कमिटी सचिव लक्ष्मण शर्मा, वरिष्ठ सल्लाहकार रमेश अग्रवाल, युवा को-अर्डीनेटर बरदान सेन्चुरी, असबिन बस्नेत, पंकज गुप्ता अनि अन्य प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। खरसाङ नगरपालिकाबाट 20 वटा वार्डका प्रतिनिधिहरूले सभामा विशेष उपस्थिति दिएको थियो। सभालाई सम्बोधन गर्दै जिल्ला उपाध्यक्ष प्रदीप प्रधानले भने, यसपालीको नगरपालिका चुनाउलाई एउटा लिडर भएर होइन संगठन भएर जित हासिल गर्नुपर्छ, लिडरको सोँच एकजनाको हुन्छ, संगठनको सोँच भनेको गाउँ घर अनि समाजको सोँच हुन्छ, पैसाकोपछि लागेर आफ्नो अनि नानीहरूको भविष्य नबिगारौँ भनी बताए। तिनले अझ भने, मुख्यमन्त्रीले पहाडमा करोड़ौँको सहुलियतहरू दियो तर नरिवल फुटाउनु मात्र भयो, जीटीए पनि एकजना मान्छेले चलाउने हुँदा दुई चारजनालाई धनी बनायो तर बाँकी सबै पहाडलाई बेरोजगार मात्र बनायो र यस पाली जुन प्रकारले खरसाङ नगरपालिक क्षेत्रबाट मानिसहरूले जन समर्थन दिएर अघि आएको छ, यसको निम्ति सबैलाई धन्यवाद दिए। तिनले आज मानिसहरूले मुख्यमन्त्री ममता ब्यानार्जीले पहाहको  विकास गरिरहेको देखेर मानिसहरूले पार्टीमा समर्थन जनाइरहेको बताए। यसपालीको नगरपालिका चुनाउमा एकजुट भएर चुनाउ जितेर तृणमूल कङ्ग्रेसको बोर्ड गठन गर्नको लागि मुख्यमन्त्रीको हात बलियो बनाउन भन्दै तिनले सबैसित आहवान पनि गरे।


सभाको क्रममा हिल तृणमूल कङ्ग्रेसको कार्यलाई मन पराएर 4 नम्बर वार्डका वरिष्ठ सदस्य सहदेव चामलिङ पनि हिल तृणमूल कङ्ग्रेसमा सामेल भएको बताए। सभालाई सम्बोधन गर्दै भूतपूर्व विधायक डा. रोहित शर्माले भने, विगतका नगरपालिका चुनाउमा ठुला ठुला सपना देखाए तापनि आजसम्म कुनै साकार भएको छैन, नगरपालिकामा आएको सहुलियतहरू कन्भट गरेर नगरपालिका विकास गर्ने पैसाहरू कता लग्यो भन्दै तिनले प्रश्न तेर्साए। तिनले अझ भने, मिरिक नगरपालिकामा सहुलियत धेर भएर सहुलियत फर्काउने स्थिति आयो तर खरसाङ नगरपालिकाले त भाइ बन्धु गरेर आफ्नो मान्छेलाई मात्र सहुलियत दिएको आरोप लगाए। तिनले अब यी सबै घोटालाबाजहरूलाई रोक्नको निम्ति यसपाली हिल तृणमूल कङ्ग्रेसको बोर्ड बनाएर देखाउनु होस् अनि हामीले काम गरेर देखाउनेछौं भनी बताए। सभा अध्यक्ष आरीफ खानले सभालाई सम्बोधन गर्दै भने, यसपाली नगरपालिका चुनाउ भ्रष्टाचारमुक्त बनाउनको निम्ति हुनुपर्छ, वार्ड वार्डको विकासको निम्ति हुनुपर्छ तर एक दुईजना धनी बनाउने चुनाउ हुनु हुँदैन्, जसरी हाम्रो मुख्यमन्त्रीले पहाडको निम्ति विकासको मूल फुटाएको छ यसलाई सहीसित काम गरेर देखाउनु पर्छ भनी बताए। तिनले खरसाङलाई सुन्दर खरसाङ हाम्रो खरसाङ बनाउनु पर्छ, घर घरमा नगरपालिका भएको हुनुपर्छ, यसपाली चुनाउमा तृणमूल कङ्ग्रेसले बोर्ड गठन गर्‍यो भने वार्ड-वार्डका मानिसहरू नगरपालिका जानु नपर्ने र सबै सुविधाहरू दिलाउने भनी बताए। सभालाई वरिष्ठ सल्लाहकार रमेश अग्रवालले पनि सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *