खरसाङमा पास्टर सुधीर गहतराजको पुस्तक ‘सन्देश अनुशीलन’-को लोकार्पण

खरसाङ: खरसाङका पास्टर सुधीर गहतराजद्वारा लिखित पुस्तक सन्देश अनुशीलन-को आज विमोचन गरियो। उक्त पुस्तकको विमोचन मुख्य अतिथि कालेबुङका सिनियर पास्टर ज्योतिकुमार श्रेष्ठ, पास्टर भीम घतानी, पास्टर सन्त शामुएल राई, पास्टर सुनिल राई, एल्डर राजीव सुब्बा र लेखक पास्टर सुधीर गहतराजको बाहुलीबाट खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न एउटा कार्यक्रमबीच लोकार्पण गरियो। यो सन्देश अनुशीलन पुस्तक धेरैलाई बाईबलको उचित शिक्षा दिन सहायता गर्छ, बाईबलको एफिसी 1-को 4 पदलाई उद्धृत गर्दै वर्तमान समयमा विश्वासीहरूलाई पवित्रकरणको पनि खाँचो छ र यहीँ सारलाई समेट्दै सन्देश अनुशीलन पुस्तक परिपुरक भएको छ भनी विशिष्ट अतिथि रेभ भीम घतानीले बताए। त्यसरी नै कार्यक्रमको प्रमुख अतिथि पास्टर ज्योतिकुमार श्रेष्ठले सन्देश अनुशीलन पुस्तकले झूटो शिक्षाबाट जोगिन प्रशस्त सहायता गर्दछ एवम् एकजना प्रचारकलाई वचन बोल्नभन्दा अघि कसरी तयार हुने र कसरी वचन तयार पार्न सकिन्छ भन्ने विषयमा यो पुस्तक साह्रै लाभदायी रहेको बताए। तिनले पास्टर सुधीर गहतराजले यो पुस्तक बाईबलीय अवधारणाहरूलाई लिएर लेखेका छन् जसले गर्दा तिनी अब थियोलजिस्ट नै बनेका छन् कारण यो पुस्तक बाईबलीय थियोलजिस्ट जस्तै छ भनी बताए। कार्यक्रममा बाईबलबाट सन्देश पास्टर सुनिल राईले राखेका थिए भने पुस्तकको लेखक पास्टर सुधीर गहतराजले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *