खरसाङमा सांस्कृतिक धरोहर संरक्षण महिना व्यापी रूपमा मनाइने

खरसाङ : गोर्खा सांस्कृतिक संस्थान खरसाङको एउटा महत्त्वपूर्ण सभा संस्थानका अध्यक्षा आशा मुखिया लामाको अध्यक्षतामा सम्पन्न भयो। गोर्खा सांस्कृतिक संस्थान खरसाङको रजत जयन्ती भव्य कार्यक्रमको साथमा पालन गर्ने योजना रहे तापनि कोरोना महामारीको कारण सो साधारण रूपमा पालन गर्ने भएको छ। यसको साथै संस्थानले सांस्कृतिक विषयक पुस्तक प्रकाशन गर्ने निधो गरे तापनि वर्तमान परिस्थितिलाई ध्यानमा राखेर  संस्थाको विविध कार्यक्रमहरूलाई समेत छाँटकाँट गरेर केवल गोर्खा सांस्कृतिक संस्थानको पुस्तक “संस्कृति विशेषाङ्क”-को आगामी 7 नोभेम्बरको दिन लोकार्पण गर्ने आजको सभामा निर्णय लिइयो। सभामा गोर्खा सांस्कृतिक संस्थान खरसाङले नेपाली जातिको महान पर्व दसैँ-तिहारको शुभ उपलक्ष्यमा आगामी 17 अक्टोबर घटस्थापनाको दिनदेखि आरम्भ गरेर आगामी 16 नोभेम्बर भाइटिकाको दिनसम्म एक महिना व्यापी “सांस्कृतिक धरोहर संरक्षण महिना”-को रूपमा पालन गर्ने निर्णय लिएको बताइएको छ। उक्त दिन सम्पूर्ण गोर्खा जातिले आफ्नो पारम्पारिक वेशभूषा, पहिरन, गरगहना, खानपान, बाजागाजा इत्यादिको प्रयोग गरेर संस्कृति संरक्षण गर्ने जमर्को गरुन् भन्ने आह्वान गर्ने सभामा निर्णय लिइयो। उक्त कार्यक्रमलाई सफल पार्न सबै संस्कृति प्रेमी जनसमूहलाई गोर्खा सांस्कृतिक संस्थान खरसाङले आह्वान गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *