खरसाङमा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको 102औं जन्मजयन्ती पालन

खरसाङ : खरसाङमा गोर्खा जनपुस्तकालयको आयोजनामा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको जन्मजयन्ती पालन गरियो। 14 जुन सन् 1890 मा जन्मेका भारतीय स्वतन्त्रता सङ्ग्रामका एकजना समर्पित सेनानी, गोर्खा जन पुस्तकालयका संस्थापक सदस्य, भारतीय नेपाली साहित्य जगतमा प्रथम उपन्यासकारको रूपमा परिचित प्रतिमानसिंह लामाको 102औं जन्मजयन्ती आज गोर्खा जन पुस्तकालयका कार्यकारी सदस्यहरू तथा गोर्खा सांस्कृतिक संस्थान खरसाङका केही सदस्यहरूको उपस्थितिमा यहाँको पङ्खाबारी रोडस्थित गोर्खा जातीय विभूतिबारे उद्यान, खरसाङमा केवल श्रद्धाञ्जलि कार्यक्रमको रूपमा पालन गरियो। यस अवसरमा पुस्तकालयका मूल सचिव विनोद रसाइली, उपाध्यक्षद्वय प्रकाश प्रधान र ऋषि राई, कार्यकारी सदस्यहरूमा पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी तिलक शर्मा, कार्यकारी सदस्य कृष्णा पाण्डे,  अदीप कुमार रोका, अरूण लामा अनि वरिष्ठ आजीवन सदस्य तथा गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा आशा मुखिया लामा, आजीवन सदस्य पं. तुलसी अधिकारी तथा पारस लामा उपस्थित थिए। बिहानदेखिको झरी र कोरोनाकालीन सरकारी मापदण्ड अनि लकडाउनको कारण उपस्थितिको सङ्ख्या न्यून रहे तापनि सबैले नै प्रतिमानसिंह लामा लगायत स्थापित अन्य विभूतिहरूको प्रतिकृति अघि धूपदीप तथा खदामाला अर्पण गरेर श्रद्धा सुमन अर्पण गरे। स्मरण रहोस् गत 14 जुन 2019 को यस उद्यान परिसरमा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको सालिग स्थापित गरिएको थियो। औपचारिक रूपमा अन्य कार्यक्रमहरूको आयोजना नगरे तापनि आशा मुखिया लामा अनि तिलक शर्माले छोटो सम्बोधन राखे अनि सचिव विनोद रसाइलीले प्रतिमान सिंह लामाले राष्ट्र र समाज निर्माणमा दिएका योगदानप्रति कृतज्ञता ज्ञापन गर्दै उपस्थित सबैलाई  धन्यवाद दिए। तिनले कोरोना सङ्क्रमणको यस संवेदनशील समयमा घरबाट अनावश्यक रूपमा ननिस्कने तथा सरकारबाट जारी सबै निर्देश र मापदण्डलाई पालन गरिदिने आह्वान पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *