खरसाङ: खरसाङमा तृणमूल कङ्ग्रेसको श्रमिक संगठनको सभा केन्द्रीय भाइस चेयरम्यान दिपक प्रधानको अध्यक्षतामा सम्पन्न भयो। केन्द्रीय पदाधिकारीहरू, दार्जिलिङ जिल्लाका प्रतिनिधिहरू र विभिन्न खण्डका प्रतिनिधिहरूलाई लिएर सम्पन्न सभामा तृणमूलको अन्य श्रमिक संगठनहरूलाई विघटन गरी नयाँ संगठन तृणमूल चिया बगान श्रमिक युनियनमा विलय भएको छ। तृणमूल कङ्ग्रेसको हाई कमान्डको निर्देशअनुसार अहिले एउटा उद्योग एउटा युनियन भन्ने भएकोले चियाबारीमा पनि अबदेखि एउटै युनियन चल्ने कुरा पारित गरिएको छ। विशेष रूपमा मधेशतिरको चियाबारीतिर यो पहिले नै लागू गरिए तापनि पहाड़मा आजदेखि यो लागू भएर अबदेखि पहाड़मा तृणमूलको श्रमिक संगठन ‘तृणमूल चिया बगान श्रमिक युनियन’ रहने भएको छ। यसै कुरालाई सभामा पारित गरेर अब यसै अनुरुप श्रमिकहरूको हितमा कार्य थालिने पनि बताइएको छ। सभामा तृणमूल चिया बगान श्रमिक युनियनको केन्द्रीय उप सभापति एनबी खवास, भाइस चेयरम्यान दिपक प्रधान, कार्यकारी सभापति बिनय सुब्बा, सचिव सन्तोष मोक्तान, केन्द्रीय सदस्य साकाल देवान, दार्जिलिङ जिल्ला उप सभापति डीके तामाङ, खरसाङका सभापति राजेन तामाङ, आरआर खण्डका सभापति जीवन भट्टराई, मिरिकका सभापति सञ्जय राई, सुके खण्डका रबि सुब्बा, तराईबाट सत्यराज राई, नकुल विश्वकर्म लगायत दार्जिलिङ जिल्लाभरिका प्रतिनिधिहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै तृणमूल चिया बगान श्रमिक युनियन केन्द्रीय उप सभापति एनबी खवासले पार्टीको हाई कमान्डबाट आएको निर्देशन अनुसार एउटा उद्योगमा एउटा युनियन हुनुपर्ने भएकोले हाम्रोमा भएको धेरैवटा युनियनहरू एउटै युनियन तृणमूल चिया बगान श्रमिक युनियनमा विलय भएको बताए। तिनले यो कुरा मधेशमा पहिलेबाटै शुरु गरिएको तर पहाड़मा आजदेखि प्रस्ताव पारित गरेर पुरानो युनियनहरू विघटन गरी नयाँमा लागू भएको बताए। तिनले अबदेखि तृणमूल कङ्ग्रेसको एउटै युनियन तृणमूल चिया बगान श्रमिक युनियन हो र यसलाई नै सबै चियाबारी प्रबन्धक पक्ष र एएलसीलाई यो जानकारी गराउँदछौं भनी बताए। यसैगरी केन्द्रीय भाइस चेयरम्यान दिपक प्रधानले आज खरसाङमा तृणमूल कङ्ग्रेसको दार्जिलिङ जिल्ला स्तरीय सभा राखेर आजदेखि तृणमूल चिया बगान श्रमिक युनियनमा विलय भएको बताए।