खरसाङ नगरपालिकाका कर्मचारीहरूद्वारा काम रोको आन्दोलन

खरसाङ: खरसाङ नगरपालिकाको कर्मचारीहरूले आज आफ्ना विभिन्न मागहरूलाई लिएर बिहान केही बेरसम्म काम बन्द गरेका थिए। कर्मचारीहरूको भनाइ अनुसार खरसाङ नगरपालिकाले तिनीहरूको धेरैवटा माग पुरा गरेको छैन, रोजगारी ठीकसँगले दिएको छैन, धेरैचोटि नगरपालिकालाई आग्रह गरे तापनि तिनीहरूको माग पुरा गरिएको छैन। त्यसर्थ आजदेखि तिनीहरूले नगरपालिकामा काम रोको आन्दोलन गरेको बताए। यता स्थितिको जानकारी लिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा नगरपालिका कार्यालयमा आइपुगेका थिए। तिनले कर्मचारीका प्रतिनिधि अनि नगरपालिका अध्यक्ष, उपाध्यक्ष अनि अन्य पार्षदहरूसित एउटा बैठक गरेपछि कर्मचारीहरूको माग पुरा गर्न एउटा कमिटी तयार पारिने बताए।


थापाले आफू सदैव कर्मचारीहरूको साथमा रहेको जनाउँदै कुनै पनि समस्याको समाधान टेबलमा बसेर गरिए असल हुने बताए। नगरपालिका उपाध्यक्ष सुवास प्रधानले कर्मचारीहरूको माग पुरा गर्न नगरपालिका लागिरहेको भए तापनि यहाँ राजनीतिकरण भएको अनुभव आफूहरूले गरिरहेको बताए। तिनीहरूको समस्या समाधान गर्न नगरपालिका कटिबद्ध रहेको बताउँदै तिनले अनित थापा खरसाङको एकजना नागरिक भएको नाताले समस्याको समाधान गर्न आइदिएकोले तिनीप्रति कृतज्ञता प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *