खरसाङ शहरलाई बाँदरमुक्त बनाउन प्रशासनिक सचेतना रैलीको आयोजना

खरसाङ (निसं) : खरसाङ शहरलाई बाँदरमुक्त बनाउन तथा बाँदरको रगरगीदेखि मुक्त गराउनलाई प्रशासनिक रुपमा दोस्रो सचेतना रैली आयोजना गरिएको छ। खरसाङ महकुमा शासकको पहलमा गत महिनादेखि बाँदरको रगरगी रोक्नलाई खरसाङमा चलिरहेको सचेतना रैली अन्तर्गत आज दोस्रो चरणको सचेतना रैली सम्पन्न गरियो। खरसाङ बजारलाई बाँदरको रगरगीदेखि मुक्त गराउनलाई प्रत्येक महिनाको एउटा शनिवार सचेतना रैलीको आयोजना गरिने भएको कारणले आज खरसाङ बजारमा बाँदरको रगरगी रोक्नलाई सचेतना रैलीको आयोजना गरिएको बताइएको छ। आजको रैलीमा महकुमा शासक कार्यालयका अधिकारीहरू, वन विभाग, स्वस्थ्य विभाग, नगरपालिका, व्यवसाय संगठन, वरिष्ठ नागरिक संगठन लगायत विभिन्न संघ-संस्थाहरूका प्रतिनिधिहरू उपस्थित थिए। उक्त रैली खरसाङको रेलवे स्टेशनबाट शुरु भएर हिलकार्ट रोड हुँदै वर्ध्दमान रोड भएर पुनः मोटर स्ट्याण्ड हुँदै रेलवे स्टेशन परिसरमा आएर सचेतना कार्यक्रममा परिणत भएको थियो।


उक्त सचेतना कार्यक्रमलाई खरसाङ महकुमा शासकको सचिव राम प्रधानले सञ्चालन गरेका थिए भने खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, वन विभागबाट वन अधिकारीले वक्तव्य राखेका थिए। यस अवसरमा बोल्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बाँदरको रोगरगी रोक्नलाई दोस्रो चरणको सचेतना रैली आज सम्पन्न भएको र यसको मुख्य उद्देश्य खरसाङ बजारमा बाँदरको रगरगीदेखि मुक्त गराउनलाई हो भनी बताएका छन्। तिनले बाँदरको रगरगी रोक्नलाई प्रशासनिक रूपमा सचेतना रैली आयोजना गरेर मात्र हुँदैन तर जनताले पनि बुझ्नुपर्छ र जनताको पनि दायित्व बन्छ भनी बताए। तिनले मानिसहरूलाई बाँदरलाई खाना नदिने अपिल गर्नका साथै दोकानदारहरूले दोकानबाहिर फल-फूलहरू बिक्रीमा नराखीदिने नत्र सीसीटीभी क्यामेराको सहयोगमा कार्वाही गरिनेछ भनी बताएका छन्।। सचेतना रैलीपछि सम्पन्न कार्यक्रमलाई अन्यले पनि सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *