खरसाङ टाउन कमिटीको पहलमा वार्ड नम्बर 3-मा भागोप्रमोको सांगठनिक सभा सम्पन्न  

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको वार्ड पसौँ धारावाहिक कार्यक्रम अन्तर्गत खरसाङको वार्ड नम्बर तीनमा एउटा सभा सम्पन्न भयो। टाउन कमिटी प्यारेन्ट्स बडीका कार्यवाहक अध्यक्ष सन्दीप बल, कार्यवाहक सचिव बीरबल पाख्रिन तथा कार्यकारिणी सदस्यहरूको पहलमा टाउन कमिटीका संयोजक समीर दीप ब्लोन अनि  अध्यक्ष राजु शर्माको उपस्थितिमा वार्डको प्यारेन्ट्स बडी अध्यक्ष प्रनित लामाको अध्यक्षतामा सभा सम्पन्न गरियो। तीन नम्बर वार्डकी नारी शक्तिका सदस्य लक्ष्मीले सभालाई सञ्चालन गर्दै सर्वप्रथम टाउनबाट उपस्थित भएका प्यारेन्ट्स बडी, नारी शक्तिका नेतृत्वसँग वार्डवासीहरूको परिचय गराउँदै सभाको विषय वस्तु राखिदिने टाउन कमिटीका संयोजक समीर दीप ब्लोनलाई आग्रह गरिन्। समीर दीप ब्लोनले उक्त सभाको आयोजना गर्नुको मूल उद्देश्य भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक धरातल के कस्तो छ साथै यहाँ यस वार्डका जनसाधरणको गुनासो, पीर मर्कालाई टाउन कमिटीको पक्षबाट समाधानको  निम्ति पहल गर्दै सङ्गठनलाई अझ बलियो बनाउनु हो भनी बताए। तिनले विकास कार्यको निम्ति एकजुट भइदिने आग्रह गरे।


सभामा दोस्रो वक्ताको रूपमा टाउन कमिटीका अध्यक्ष राजु शर्माले सांगठनिक सभा पार्टीको धरातल बलियो बनाउनको निम्ति हो र सङ्गठन गर्नको निम्ति वार्डका सदस्यहरूमा विकासको निम्ति तर्क वितर्क गर्नुपर्छ जनसाधरणको बुनियादी समस्याको समाधान हेतु वार्डका प्यारेन्ट्स बडी, नारी शक्ति, युवा शक्ति समाधानको निम्ति अघि आएर कार्य गर्नुपर्छ भनी बताए। टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दीप बलले सङ्गठित रहे समस्या समाधानको बाटो खोलिन्छ र विगतमा यस वार्डमा सभाको माध्यमले जानकारी गराइएको समस्या पार्टी अध्यक्ष अनित थापालाई अवगत गराइसकेकोले पहाडको समस्या यहाँको बुदाहरूलाई ध्यानमा राखेर अनित थापाले सरकारसँग मिलेर समाधान गरिरहेको बताए। विगतमा हाउस फर अल अन्तर्गत घर बनाउनको निम्ति भएको समस्यालाई ध्यानमा राखेर जनहितको निम्ति निरीक्षण गरेर बनाएको रिपोर्ट पञ्चायत चुनाउले गर्दा राख्न नपाएको जानकारी दिँदै यस वार्डका सदस्यहरूलाई एकजुट भएर अनित थापाको हात बलियो बनाउने तिनले आह्वान गरे। तिनले वार्डका सदस्य बसन्त छेत्रीले वार्डका मूल असुविधाहरू अवगत गराउँदै सम्पूर्ण विकासमूलक कार्यहरूमा आदान प्रदानको वातावरण बनाउने सुझाउ राखे। सभालाई नारी शक्तिका निता लामा, ललिता छेत्री तथा अन्य वार्डका मानिसहरुले खरसाङ नगरपालिका अन्तर्गत पर्ने बाटो, त्ती तथा अन्य मूलभूत असुविधा लिएर गुनासो राख्दै समस्या समाधानको निम्ति सम्बन्धित विभागलाई पत्रचार गरेको जानकारी गराए। सभामा टाउन कमिटी प्यारेन्ट्स बडीका सह सचिव संजय मुखिया, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारिणी सदस्य रामु राउत, रमोद गुरुङ, सन्तोष पहरी, विकाश तामाङ, नारी शक्ति अध्यक्षा सबिता कार्की, उपाध्यक्षा नितु गुरुङ, सह सचिवा अञ्जु कार्की सांगठनिक सचिवा अनु प्रधान उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *