लगातार परेको वर्षाले पहाडमा जनजीवन अस्त-व्यस्त

सिलगढी: दार्जिलिङ पहाड क्षेत्रको अधिकजसो ठाउँहरूमा लगातार दुई दिनभन्दा अधिक समयदेखि परिरहेको वर्षाको कारण जनजीवन अस्त-व्यस्त बन्न पुगेको छ। लगातार परेको वर्षाले गर्दा पहाडको धेरैवटा ठाउँहरूमा सामान्य पैह्रोहरू गएको जानकारी प्राप्त भएको छ। तथापि, हालसम्म पैह्रोले कसैको ज्यानलाई क्षति नपुर्‍याएको तथा ठुलो अप्रिय दुर्घटना भएको समाचार प्राप्त भएको छैन। जीटीए क्षेत्रको दुई जिल्ला दार्जिलिङ र कालेबुङ लगायत छिमेकी राज्य सिक्किममा पनि लगातार परिरहेको वर्षाले गर्दा यता टिस्टा नदीको जल स्तर पनि निक्कै माथिसम्म आइपुगेको छ। यसै क्रममा दुई दिनदेखि परेको पानीले राष्ट्रिय राजमार्ग 10 अन्तर्गत केही ठाउँहरूमा सामान्य पैह्रो झरे तापनि जेसीपी मसिनको सहायताले तत्कालै पैह्रो सोरिने कार्यहरू भइरहेकोले अहिलेसम्म कहीँ कतै पथ अवरोध भएको छैन। राज्य सरकारद्वारा जारी निर्देश अनुसार हाल आंशिक लकडाउन भइरहेकोले गर्दा राष्ट्रिय राजमार्ग 10-मा अन्य दिनहरूको तुलनमा विशेष गरेर सेना, पुलिस, स्वास्थ्य तथा अति आवश्यक परेको खण्डमा मात्र वाहनहरूको आवत-जावत कम मात्रामा भइरहेको छ। विशेष गरेर हिजो नवान्नमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कोरोना संक्रमण रोकथामको निम्ति नियमहरू आउँदो 1 जुलाईसम्म जारी रहने घोषणा गरेकी छन् भने कोरोना परिस्थितिमा केही सुधार आउनसाथ राज्यमा लकडाउनलाई अझ केही शिथिल पारेको छ। जसमा सपिङ मल बिहान 11 बजीदेखि बेलुकी 6 बजीसम्म खुल्ला रहने, यसैगरी सबै सरकारी तथा गैर सरकारी कार्यलयहरूमा 25 प्रतिशत कर्मचारीसहित बिहान 10 बजीदेखि अपरान्ह 4 बजीसम्म खुल्ला रहने छुट दिएको छ भने रोगी वाहनको निम्ति ट्याक्सी तथा अटोहरूलाई समेत छुट दिइएको छ। तथापि, सबै शैक्षिक संस्थान, लोकल ट्रेन, बस, ट्याक्सी, मेट्रो, सिनेमा हल, ब्युटी पार्लर, जीम, स्पा एवम् सामाजिक तथा सांस्कृतिक मनोरञ्जन कार्यक्रमहरूलाई भने यस अवधि छुट दिएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *