लङ्भ्यु चियाकमान खोलिएकोमा श्रमिकहरूद्वारा जीटीए चेयरम्यान अनित थापालाई धन्यवाद

खरसाङ: खरसाङको लङ्भ्यु चियाबारी हिजो बुधबारदेखि खोलिएपछि आज दोस्रो दिनमा पनि श्रमिकहरू कमानमा गएर काम गर्न थालेका छन्। यसरी लगभग 42-43 दिनपछि लङ्भ्यु चियाबारी खोलिएकोले त्यहाँका श्रमिकहरूमा खुशीको लहर छाएको छ। लङ्भ्यु चियाबारीका श्रमिकहरूले बगान खोलाउन पहल गरिदिने जीटीए चेयरम्यान अनित थापाप्रति आभार प्रकट गरेका छन्। बगानका एकजना स्टाफले बताएअनुसार बगान खोलिएकोमा हामी धेरै खुशी छौं साथै जीटीए चेयरम्यान अनित थापाप्रति धन्यवाद दिन चाहन्छौँ। कमान कर्तृपक्षले दिएको जानकारीअनुसार बगान खोलिएको पहिलो दिन हिजो लगभग सत्तर प्रतिशत श्रमिकहरू काममा आएका थिए भने आज दोस्रो दिन त्यसभन्दा पनि अधिक संख्यामा श्रमिकहरू काममा आए। आगामी सोमबारसम्ममा अन्य सबै श्रमिकहरू काममा आउन सक्ने सम्भावना रहेको बताइएको छ। लङ्भ्यु चियाबारी खोलिएको विषयमा डीटीडीपीएलयु लङ्भ्यु युनिटका सभापति सन्तोष तामाङले लगभग 40-42 दिनदेखि बन्द रहेको लङ्भ्यु चियाबारी खोलिएपछि श्रमिकहरू धेरै खुशी छन् भने यसको श्रेय जीटीए चेयरम्यान अनित थापालाई जाने बताए। जीटीए चेयरम्यानले चियाकमान खोल्नेबारे घोषणा गरेको बेलुकीदेखि नै मालिकले श्रमिकहरूलाई तिनीहरूको ब्याङ्क खातामा बकाया राशि हाल्न शुरू गरेको तिनले बताए। यसको साथै सबै श्रमिकहरूको बकाया राशि आगामी 7 अक्टोबरसम्ममा मालिक पक्षले दिइने वचन दिएपछि नै लङ्भ्यु चियाकमान खोलिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *