लोअर सोनादा मुण्डा हट्टामा गोरामुमो-को सांगठनिक सभा सम्पन्न

सोनादा : गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले लोअर सोनादा मुण्डा हट्टामा सांगठनिक सभाको आयोजना गर्यो। निर्मल लामाको अध्यक्षतामा सम्पन्न सभालाई टाशी भुटियाले सञ्चालन गरेका थिए। उक्त सभामा मुण्डा हट्टा शाखालाई अझ बलियो बनाउनको लागि मुण्डा हट्टा शाखा गठन गर्न सुरज रावत छेत्रीलाई सर्वसम्मतिले संयोजक चयन गर्यो। गोरामुमोको सिद्धान्त अनि अनुशासनलाई देखेर बुझेर मुण्डा हट्टामा युवाहरू गोरामुमोसित जोडिन पुगेको भनी गोरामुमो संस्थापक सदस्य निर्मल लामाले बताए। तिनले अझ भने, गोरामुमो भनेको जाति र माटोको मुद्दा बोकेको दल हो हामी जातिको उन्मुक्ति चहान्छौँ र यसको लागि अध्यक्ष मन घिसिङ लागि परेका छन् अब अध्यक्ष मन घिसिङको हात बलियो बनाउन युवाहरू लाग्नुपर्छ। अब जाति र माटोको उत्थान भनेको केवल हरियो झण्डाले गर्नेछ। पहाडमा धेरै राजनैतिक दलहरू जन्मिए तर तिनीहरू परालको आगो साबित भए गोरामुमो भनेको बुकको रुख अनि कटुसको रुख हो भनी निर्मल लामाले बताए। पुबोङमा जोइण्ट फोरमका प्रतिनिधिहरूमाथि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा भएको प्राणघातक हमलाको गोरामुमो सोनादा टाउन कमिटीका सचिव टाशी भुटियाले घोर भर्त्सना गर्दै विरोध जनाए। जोइण्ट फोरमको निम्ति हामी सडकमा ओर्लिनु तयार छौं। यो एउटा अगणतान्त्रिक घटना हो गणतन्त्रमा विरोध गर्नु पाउँछ। पाँच डेसिमल पट्टा हामीलाई शरणार्थी बनाउने पट्टा हो यसको विरोधमा हामी सहर बजारकाहरू पनि श्रमिकहरूलाई साथ दिन तयार छौं भनी टाशी भुटियाले जनाए। उक्त सभामा गोरामुमो सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्री, गोरायुमो सोनादा टुङ समष्टिका अध्यक्ष वाङ्दी शेर्पा, अरुण छेत्री लगायत स्थानीय लोअर मुण्डावासी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *