लुकसान भुट्टाबारीमा हात्तीले 7 बिघा धानको खेती नष्ट

नगरकट्टा: नगरकट्टा ब्लकको लुकसान भुट्टाबारी बस्तीमा लगाइको 7 बिघा धान जंगली हात्तीले खाइदिनको साथै कुल्चिएर नष्ट गरिदिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान तीनवटा हात्तीको झुण्ड लुकसान बस्तीमा प्रवेश गरेर यहाँका कृषक विष्णु लाल सुब्बाको 7 बिघा धानको खेती नष्ट गरिदिएको छ। स्थानीय मानिसहरूले बताए अनुसार आज बिहान नजिकै रहेको डायना जंगलबाट आएको एउटा बच्चासहित तीनवटा हात्तीको झुण्डले लुकसान भट्टाबारी बस्तीमा पसेर धानको खेती नष्ट गरिदिएको छ। धान खेतका मालिक विष्णु लाल सुब्बाले दिएको जानकारी अनुसार आफुले धेरै मेहनत गरेर चाइनिस ब्लेक सेन्टेड ब्लेक राइस धान लगाएका थिए, जुन धान अधिक मूल्यवान रहेको साथै यहाँ यो प्रजातिको धान नपाइने तिनले बताए। यदि हात्तीले यो धान नष्ट नगरिदिएको भए यस प्रकारको मूल्यवान धानको बिरूवा अरूलाई पनि दिएर धानको खेती गर्न अझ प्रोत्साहित गर्ने आफ्नो योजना रहेको थियो भनी विष्णु लाल सुब्बाले बताए। हात्तीले धानको खेत मात्र नष्ट नगरिदिएर आफ्नो सपना पनि भताभुङ्ग पारिदिएको तिनले दुखेसो पोखे। अर्कोतिर, पीडित पक्षले क्षति पूर्तीको लागि माग गरे सरकारी नियम अनुसार वन विभागले क्षतिपुर्ती दिइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *