महानदीमा सरकारी प्राथमिक पाठशालाको खस्कँदो स्थितिबारे सभा सम्पन्न

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत महानदीको गाँधी मेमोरियल निम्न बुनियाँदी प्राथमिक पाठशालामा सरकारी प्राथमिक पाठशालामा विद्यार्थीहरूका खस्कँदो विषयलाई लिएर सभा सम्पन्न गरियो। उक्त सभा पाठशाला सञ्चालन समितिको सभापति हर्क गुरुङको अध्यक्षतामा अनि शिक्षिका अनु प्रधानको सञ्चालनमा सम्पन्न भयो। सभामा स्वागत सम्भाषण पाठशालाको प्रधान अध्यापिका कविता गुरुङले राखेपछि समाजसेवी सूर्य नारायण प्रधानले आफ्नो विचार राख्दै सरकारी प्राथमिक पाठशालामा नानीहरू नहुनुमा अभिभावकवर्गले पाठशालाबारेमा सठीक जानकारी नपाउनु, आडम्बर लाग्नु साथै सरकार पक्ष र विभागबाट पनि सही रूपमा निर्क्यौल नहुनु रहेको बताए। तिनले पाठशाला प्रबन्धन सठिक नहुनु, पाठशालामा वितरण हुनु पर्ने विषयको गुणस्तरमा कमी साथै समय बितेर वितरण गरिनु अनि शिक्षण क्षेत्रमा राजनीतिले पनि असर पारेको देखिँदैछ भनी बताएका छन्। सूर्यनारायण प्रधानले यी कतिपय समस्याहरू समाधान गर्नलाई गाउँ समाज अघि आउनु पर्ने आह्वान गरेका छन्।


सभामा पूर्व शिक्षक सुरज राईले पाठशालामा विद्यार्थीहरू धेर थोर भए पनि श्रेणीहरू शिशु श्रेणीदेखि चौथो श्रेणीसम्म भएकोमा दुईजना मात्रै शिक्षिकाले सबै श्रेणी सञ्चालन गर्नु गाह्रो परे पूर्ण सहयोग समाजबाट गर्ने आश्वासन दिएका छन्। महानदी ग्राम सुधार समितिको पक्षबाट जयन्त जैसवालले निजी स्कूलहरू र सरकारी पाठशालाहरुको प्रदर्शनमा निक्कै फरक परेको छ भन्दै निजी स्कूलको नानीहरूको ड्रेस, नानी ल्याउन र लैजानलाई, नानीलाई ट्युशन इत्यादि कुराले पनि जनसाधारणमा आकर्षण बढ्ने जनाएका छन्। सभामा घुम्ती कमानको ग्राम सुधार समितिको पक्षबाट निलेस खवासले सबै समाजबाट सभा आयोजना गरी हामीले पढेको पाठशालाको गरिमा फर्काइ ल्याउन पर्ने जिम्मेवारी हाम्रै हो र हामी सबै यसमा लागि मिली अघि आउनु पर्ने जनाएका छन् । त्यसरी नै सभालाई सम्बोधन गर्दै स्वनिर्भर दलको पक्षबाट रोजी राईले नानीहरूले पाउनु पर्ने युनिफर्म सबै आदेस अनुरूप बनाएको र सामग्री प्राप्तिमा केही विलम्ब भएकोले समस्या भएको बताइन्। सभाध्यक्ष हर्क गुरुङले पाठशालाको पहिलेकै गरिमा फर्काइ ल्याउनलाई गुरुमाद्वयले विभाग, गाउँ समाज र शिक्षित गण्य मान्य व्यक्तिहरूबाट सहयोग लिनपर्ने साथै अघि बढ्नु पर्ने कुरामा जोड दिँदै आफुहरू पनि साथमा रहेको बताएका छन्। तिनले सभामा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *