महाशिवरात्री के हो अनि किन मनाइन्छ?

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने‘महाशिवरात्री’ हिन्दुहरूको लागि एक प्रमुख चाँड हो । यो भगवान शिवको प्रमुख पर्व हो। शिवजी उत्पत्ति भएको रातको नामबाट यसको नामकरण शिवरात्री भएको मानिन्छ। यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री, र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित गरिएको छ । यस पर्वलाई सम्पूर्ण गरिब दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनको रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवहरूमध्ये सर्वोत्तम मानिएको महाशिवरात्रीको दिन आज हिन्दी भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरेर व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आजको दिन शिवरात्रीमा उपवास बसेर ” ऊँ नमः शिवाय” मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्री कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रको रूपमा अवतरण भएको मानिन्छ । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गरेका थिए। यसैकारण यस पर्वलाई महाशिवरात्री अथवा कालरात्री भनिन्छ। शिवरात्रीको पालन गर्नाले भोग र मोक्ष दुवैको प्रप्ती हुन्छ भन्ने शिव धर्मावलम्बीहरूको ठूलो विश्वास रहिआएको छ। यसैले अन्य स्थानहरूमा झै पहाडको दार्जिलिङ तथा कालेबुङ जिल्लाका विभिन्न बजार, कमान, गाउँ-बस्तीहरूमा पनि विशेष गरेर युवती तथा महिला शिवभक्तहरूले आजको दिनमा मन्दिरहरूमा धुमधामसँग श्रद्धा भक्तिको साथमा भगवान शिवको पुजा-आराधना गर्ने गर्दछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *