महिलाहरूको सुरक्षाको लागि पुजा अवधि महिला स्क्वाड टोली तेजस्विनीद्वारा सिलगढीको विभिन्न ठाउँमा गश्ती लगाइने

सिलगढी: दुर्गा पुजा घुम्न आउने महिलाहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्य लिएर सिलगढी मेट्रोपलिटन पुलिसले महिला स्क्वाड टोलीलाई जिम्मेवारी दिएको छ। आज सप्तमीको दिन सिलगढी मेट्रोपोलिटनका कमिश्नर गौरव शर्माले उक्त महिला स्क्वाड टोलीलाई तेजस्विनी नाम दिएको छ। पुजा घुम्न आउने युवतीहरूलाई जिस्काउने तथा तिनीहरूसित अभद्र व्यवहार गर्ने युवकहरूमाथि लगाम लगाउनको लागि सिलगढी मेट्रोपोलिटन पुलिसले महिला स्क्वाड टोली तेजस्विनीलाई खटाएको बताइएको छ। उक्त टोलीको मुख्य उद्देश्य महिलाहरूलाई सुरक्षा प्रदान गर्नु रहेको छ। उक्त तेजस्विनी टोलीले आज सप्तमीको दिन साँझ स्कुटीमा सवार भएर सहरको विभिन्न ठाउँहरूको भ्रमण गर्दै उपद्रवी युवकहरूमाथि नजर राख्ने बताइएको छ। पुजा अवधि महिलाहरूलाई कुनै प्रकारको समस्या नहोस् भन्ने विषयमा उक्त तेजस्विनी टोलीले विशेष ध्यान राख्नेछ। महिला स्क्वाडको तेजस्विनी टोलीमा धेरैजना महिला पुलिसकर्मीहरू सामेल छन्। उक्त टोलीका महिला स्क्वाडका कर्मीहरूले स्कुटीमा सवार भएर सहरको विभिन्न ठाउँमा गश्ती लगाउने छ भने कमिश्नर गौरव शर्माले उक्त टोलीलाई हरियो झन्डा देखाएर प्रस्थान गराउने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *