महिलाको 80 हजार रूपियाँ छिनताई गरेको मामिलामा एकजना व्यक्ति पक्राउ

सिलगढी (निसं): ब्याङ्कबाट रूपियाँ निकालेर घर फर्किरहेको समय एकजना महिलाको 80 हजार रुपियाँ छिनताई गरेको मामिलामा एनजेपी थाना पुलिसले अनुप ग्वाला नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। तिनी राजगञ्जको फाटापुकुर निवासी हुन्। स्मरण रहोस, गत शुक्रबार फूलबारी 1 नम्बर ग्राम पञ्चायतको गोरामोड संलग्न रामनगर बस्ती निवासी बबीता रायले आफ्नो छोराको उपचार गर्नका लागि एनजेपी इलाकाको एउटा ब्याङ्कबाट 60 हजार रुपियाँ निकालेर टोटोमा घर फर्कीरहेकी थिइन्। टोटो डीएस कलोनी इलाकामा आइपुग्न साथ पछिल्तिरबाट बाइकमा सवार भएर आइरहेका दुई जना युवकले तिनको हातबाट पैसाको ब्याग थुतेर चम्पट कसेका थिए। उक्त ब्यागमा अगावै 20 हजार रूपियाँ थियो भने ब्याङ्कबाट निकालेको 60 हजार गरेर मोठ 80 हजार रूपियाँ लिएर बदमासहरू चम्पट कसेको आरोप रहेको छ। उक्त घटना पछि बबीता रायले एनजेपी थानामा घटनाबारे अभियोग दर्ता गरेकी थिइन्। यसपछि पुलिसले सीसीटीभी क्यामेराको सहयोगमा जाँच गरेपछि पुलिसले अन्तत: मंगलवार राति नौकाघाटबाट अनुप ग्वालालाई पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार तिनी फाटापुकुरबाट बाइकमा आएर सिलगढी शहर संलग्न इलाकामा छिनताई गरेपछि लुक्थे। आरोपीबाट चोरी गरेको रूपियाँ उद्धार नभएको बताइएको छ। आज आरोपीलाई अदालतमा पेश गरियो। एनजेपी पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *