महिला वकील आत्महत्या काण्डका प्रेमी वकील पक्राउ

सिलगढी : सिलगढी अदालतको एउटी महिला अधिवक्ताको गत 7 जुलाईको दिन तिनकै घरबाट रहस्यमयी ढङ्गमा शव उद्धार भएको थियो। यस घटनापछि मृतक अधिवक्ताको परिवारका सदस्यहरूले तिनको प्रेमी वकील देवाञ्जन चक्रवर्ती र तिनको आमाको नाममा थानामा अभियोग दर्ता गरेका थिए। घटनापछि देवाञ्जन चक्रवर्तीले सुइँकुच्चा ठोकेका थिए तर 10 दिनपछि आज वकील देवाञ्जन चक्रवर्तीले सिलगढी अदालतमा आत्मसमर्पण गरे। देवाञ्जन चक्रवर्तीको आत्मसमर्पणलाई केन्द्र गरेर अदालतमा बार एसोसिएसन र मृतक परिवारका सदस्यहरूले विक्षोभ प्रदर्शन गरे। वकील देवाञ्जनलाई अदालतमा पेश गरेपछि 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ। मृतक मेधा साहाको आमाको आरोप अनुसार कलेजदेखि नै देवाञ्जन चक्रवर्ती र मेधामाझ प्रेम सम्पर्क भएकोले तिनीहरूको बिहे गर्ने निर्णय गरिएको थियो। बिहेको मिति ठिक गरेपछि देवाञ्जन चक्रवर्ती र तिनको आमाले 25 लाख रुपियाँ र चेम्बरको लागि एउटा घर दाइजो मागेको थियो। छोरीको खुसीको लागि तिनले देवाञ्जनलाई 5 लाख रुपियाँ दिएकी थिइन्। देवाञ्जन र तिनको आमाले लगातार दाइजोको माग गर्नको साथै दाइजो नदिए विवाह नगर्ने समेत देवाञ्जनको आमाले भनेकी थिइन्। यसैबीच देवाञ्जनले पहिला पनि बिहे गरेर स्वास्नीलाई छोडिसकेको थाहा पाएपछि छोरी दुखी थिइन्। छोरीले जसको लागि आत्महत्या गरेको हो त्यसले कठोरभन्दा कठोर सजाय पाउनुपर्ने मृतककी आमाले माग गरेकी छन्। अर्कोतिर, अदालतमा पत्रकारहरूलाई सम्बोधन गर्दै देवाञ्जनले आफूमाथि लगाइएको सबै आरोपहरू झुटो हो। मेधाको आमा-बाबुले हामी दुईको बिहे नहोस् भन्ने चाहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *