मैले पार्टीको निम्ति मुद्दा हालेको होइन, जातिको निम्ति हो : मन घिसिङ

दार्जिलिङ : मैले पार्टीको निम्ति मुद्दा हालेको होइन तर जातिको निम्ति हो भन्दै  आज गोरामुमो केन्द्रीय कार्यालय दार्जिलिङमा रिम्बिक लोधोमा समष्टि अनि पुलबिजनबारी समष्टिका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले उपर्युक्त मन्तव्य पोखेका हुन्। आज पार्टी अध्यक्ष मन घिसिङलाई भेट गर्नको लागि केन्द्रीय कार्यालय दार्जिलिङमा विभिन्न समष्टिका प्रतिनिधिहरू तथा कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा तिनले उपस्थित पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने,  म सबैलाई सम्झाउदैछु मेरो कर्तव्य पनि हो र मैले विगतका दिनहरूमा पनि भनेको हो। हामीलाई धलिमली गर्दैछ, हामीलाई हेपेको हो, जे पनि गर्दा हुन्छ भन्ने हेर्ने दृष्टिकोणलाई मैले चुनौती दिएको हो। यसकारण अब हेपिनु हुँदैन, सबै अघि आउनुपर्छ। चाप्लुसे राजनीति गर्नु हुँदैन यहाँ गोर्खाको भविष्य र मुद्दाको विषय छ भन्दै जबसम्म हरियो झण्डा छ तबसम्म आफू लागिपर्ने मन घिसिङले बताए। कार्यकर्ताहरूले जनतालाई सही दिशामा सम्झाउनु पर्ने अध्यक्ष मन घिसिङले निर्देश दिँदै जबसम्म केन्द्रीय समितिबाट दिशा निर्देश जारी हुँदैन तबसम्म केही कदम नउठाउने साथै आउँदो 21 जुनको दिन न्यायालयको सुनवाइको प्रतीक्षा गर्ने सबैलाई निर्देश दिए। अर्कोतिर, पुलबिजनबारी समष्टिका उपाध्यक्ष गाइस सुब्बाले आफ्नो सम्बोधनमा भने, हामी जीटीए व्यवस्थाको विरुद्धमा छौं र समष्टिले यसलाई खुलेर विरोध गर्दै चुनाउ पनि बहिष्कार गर्नेछौँ। अध्यक्ष मन घिसिङले जाति र माटो बचाउन जुन कदम उठाउनु भएको छ त्यसको लागि समष्टिको तर्फबाट आभार व्यक्त गर्दछौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *