म झण्डा बचाउन, पार्टी बचाउन होइन तर पहाड बचाउन निस्किएको हुँ : अनित थापा

खरसाङ : गोजमुमो दुईका अध्यक्ष विनय तामाङले आज पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो पद तथा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको घोषणा गरेपछि पार्टी महासचिव अनित थापाले यसबारे प्रतिक्रिया व्यक्त गरेका छन्। तिनले पत्रकारहरूलाई भने, म हिजो पनि विनय दाज्युलाई सम्मान गर्थेँ, आज पनि गर्छु अनि भोलि पनि गर्नेछु। तिनले अझ भने, यदि उनलाई दलभित्र कसैसँग गुनासो भए हाउस अगाडि कुरा राख्न सक्थे।विनय तामाङले वास्तवमा के कारणले राजीनामा दिएका हुन् त्यो अझसम्म स्पष्ट नभएको अनित थापाले बताए। विनय तामाङले राजीनामाको घोषणा गर्दा सन् 2017-मा झण्डा, पार्टी अनि जनता बचाउनको निम्ति बिमल गुरूङबाट छुट्टिएको बताए तापनि यता अनित थापाले आफू झण्डा बचाउन अनि पार्टी बचाउन होइन, तर पहाड बचाउन निस्किएको हुँ भनी बताए। अर्कोतिर, पार्टी अध्यक्ष विनय तामाङले आज अचानक पदबाट राजीनामा दिएपछि भोलि पार्टीको विभिन्न भ्रातृ संगठनहरूलाई लिएर महासचिव अनित थापाले टाउन हल खरसाङमा अपरान्ह 2 बजी महत्वपूर्ण सभा बोलाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *