उत्तम शर्माको समर्थनमा तीनधारे-महानदी समष्टिको विभिन्न ठाउँहरूमा र्‍यालीको आयोजना

खरसाङ : कङ्ग्रेस र संयुक्त मोर्चाद्वारा समर्थित मार्क्सवादी कम्युनिस्ट पार्टीको उम्मेद्वार उत्तम शर्माको पक्षमा आज खरसाङ महकुमा अन्तर्गत तीनधारे- महानदी समष्टिको विभिन्न ठाउँहरूमा र्‍यालीको आयोजना गरियो। उक्त र्‍याली महानदीको रेलवे स्टेशन परिसरबाट शुरू गरेर महानदी बजार परिक्रमा गर्दै चौकी डाँड़ासम्म पुगेर समापन गरियो। यसैगरी, घैयाबारी ग्राम पञ्चायत कार्यालय परिसरबाट पनि प्रार्थी उत्तम शर्माको समर्थनमा एउटा र्‍याली निकालेर घैयाबारीको विभिन्न क्षेत्रहरूको भ्रमण गर्दै यसपालीको विधानसभा चुनाउमा संयुक्त मोर्चाद्वारा समर्थित माकपाका प्रार्थी उत्तम शर्मालाई मतदान गरेर विजय बनाउने सबैलाई आह्वान् पनि गरियो। घैयाबारीबाट कालीमाट्टी हुँदै सिलिमहिलको एनएच 55 परिसरमा रहेको आइतबारे हाटसम्म प्रार्थी उत्तम शर्माले चुनाउ प्रचार गर्दै स्थानीय मानिसहरूसित कुराकानी गर्नको साथै आफ्नो पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरे।


यसैगरी, तीनधारेमा पनि उत्तम शर्माको पक्षमा भोट दिने आह्वान् गर्दै ब्लु डाइमण्ड स्कुल परिसरबाट एउटा र्‍याली निकालेर तीनधारे परिसर घुम्दै बजार पुगेर चिल्ड्रेन पार्कमा चुनावी सभामा परिणत भयो। आजको र्‍यालीको बारेमा माकपा प्रार्थी उत्तम शर्माले पत्रकारहरूसित कुराकानी गर्दै आफू प्रथमपल्ट यस क्षेत्रबाट उम्मेद्वार भएर खड़ा भएको छु र मैले आज मेरो क्षेत्र महानदी, घैयाबारी, तीनधारे क्षेत्रका मानिसहरूलाई भेटघाट गरेर आफ्नो पक्षमा मतदान गर्ने अपील गरेको बताए। तिनले महानदीबाट र्‍याली शुरू गरेर घैयाबारी, कालीमाट्टी र तीनधारेमा रोड शो गरी तीनधारेको चिल्ड्रेन पार्कमा चुनावी सभा गरेको बारेमा पनि जानकारी गराए। र्‍यालीमा प्रार्थी उत्तम शर्मा लगायत पूर्व राज्य सभा सांसद समन पाठक, पूर्व विधायक तुलसी भट्टराई, डीवाईएफआई दार्जिलिङ जिल्लाका सभापति सचिन खाती,   चेतन गुरुङ एवम् अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *