मालिकपक्षले सबै रकम भुक्तान नगरेसम्म लङ्गभ्यू चियाबारी कमिटीले नै चलाउने निर्णयमा अडिग

खरसाङ : खरसाङको लङ्गभ्यू चियाबारीको मालिकले श्रमिकहरूको भुक्तान गर्नुपर्ने प्राय:तीन करोड़भन्दा पनि धेर रकमबाट आज केवल तेह्र लाख रुपियाँ भुक्तान गरेको सन्दर्भमा स्थानीय चिया श्रमिक अनि बगान सञ्चालन समितिका सदस्यहरूले आ-आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। तथापि यति 13 लाख रूपियाँ श्रमिकहरूलाई दिनुमा पनि जीटीए अध्यक्ष अनित थापाको महत्वपूर्ण भूमिका रहेको बताउँदै तिनीहरूले यसको निम्ति अध्यक्ष थापाप्रति विशेष रूपले आभार प्रकट गरेका छन्। यसै सन्दर्भमा बगान सञ्चालन समितिका सदस्य एवम् डीटीडीपीएलयु लङ्गभ्यूका संयोजक मणिराज डुम्जनले हिजोदेखि जीटीए अध्यक्ष अनित थापाको पहलमा यहाँ एउटा कमिटी बनाएर बगान चलाउन थालेको थाहा पाएर बगान मालिकपक्षले अत्तालिएर यसरी अचानक 13 लाख रूपियाँ हालिदिएको जनाउँदै तर त्यत्ति कम्ती रूपियाँले मात्र कमान खोलेर मालिकहरूलाई सुम्पिन श्रमिक अनि कमिटीहरू असमर्थ रहेको बताए। तिनले अझ भने, जीटीए अध्यक्ष अनित थापाले लङ्गभ्यू चियाबारीका मानिसहरूको निम्ति धेरै सहयोग गरेका छन् । यसपल्ट पनि तिनीहरूकै बिग्रँदो अवस्थालाई ध्यानमा राखेर यहाँ एउटा कमिटी बनाएर बगान खोल्ने निर्देश दिएका हुन्,फलस्वरुप बुधवारदेखि बगान खोलियो। तर जस्तो बगान खोलियो त्यस्तै आज श्रमिकहरूको खातामा पैसा हाल्न थालियो। तर यति कम्ती पैसा हालेर हामी मालिकलाई कमान सुम्पिन तयार छैनौँ। जबसम्म श्रमिकहरूको रहल जति पनि रकम छ, ती सबै हालिदिए पछि मात्रै कमान चलाउन दिन्छौँ। अब जीटीए अध्यक्ष अनित थापा लगायत स्थानीय श्रमिकहरू अनि बगान सञ्चालन कमिटी आफ्नो मागमा अडिग रहेको बताए।


अनित थापाप्रति कृतज्ञता प्रकट गर्दै डुम्जनले जसरी आज उनले दुःखको समयमा लङ्गभ्यूवासीलाई साथ दिएका छन्, त्यसरीनै लङ्गभ्यूवासी पनि उनको साथमा रहेको बताउँदै तर यसलाई कसैले पनि राजनीति हिलो छेप्ने काम नगर्नु भनी लाखेस गराए। तिनले श्रमिकहरूको बिग्रँदो अवस्थामा साथ दिनुको निम्ति केवल अनित थापा अघि आउने गरेको जनाउँदै तर उनीमाथिनै विभिन्न प्रश्न र शंका गर्ने अधिकार कसैलाई नरहेको समेत दावी गरे। त्यसरीनै डीटीडीपीएलयु लङ्गभ्यू शाखा सभापति सन्तोष गोलेले पनि जीटीए अध्यक्ष अनित थापाको पहलमा जसरी बुधवारदेखि कमिटी मार्फत बगान खोलियो त्यस्तै हिजोसम्म चुपचाप बसेका मालिकहरूले आजदेखि फटाफट पैसा हाल्दिनु थालेपछि तिनीहरू आश्चर्य चकित भएको बताउँदै तर श्रमिकहरूको निम्ति केवल तेह्र लाख मात्र पर्याप्त नभएको जनाए भने तिनले श्रमिकहरूको रहल सबै रकम भुक्तान गरेपछि मात्र मालिकहरुलाई बगान चलाउनको निम्ति सुम्पिने बताए। बगान मालिकहरूकै हो, हामी त केवल स्याहार सुसार गर्ने मात्र हौँ। अहिले पनि हामीले बगानलाई स्याहार्ने काम गरिरहेका छौँ भन्दै गोलेले आफ्नो विचार व्यक्त गरे। यता बगानमा काम गरिरहेका श्रमिकहरूले पनि मालिकद्वारा तिनीहरूको खातामा हालिदिएको कम्ती रकमप्रति असन्तुष्ट व्यक्त गर्दै जबसम्म तिनीहरूले पाउनुपर्ने तिनीहरूको खर्च,बोनस लगायत सबै रहल रकमहरू भुक्तान गर्दैन तबसम्म उनीहरूले मालिकको रेखदेखमा काम नगर्ने बताए। जीटीए अध्यक्ष अनित थापाले तिनीहरूको दयनीय अवस्थालाई देखेर यदि कमान नखोलिदिएको भए मालिकहरुले यति 13 लाख रूपियाँ पनि नहालिदिने थिए भन्दै यसको श्रेय पनि अध्यक्ष थापालाई दिँदै उनीप्रति कृतज्ञता प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *