मामाको घर सिलगढीबाट निखोज छात्रा नन्दिनी राय खालपाडा आउटपोस्ट इलाकाबाट उद्धार

सिलगढी : मामा घरमा घुम्न आएकी छैटौँ श्रेणीको छात्रा निखोज भएको 72 घण्टापछि अन्ततः सिलगढीको खालपाडा आउटपोस्ट इलाकाबाट उद्धार भएको छ। उक्त घटनामा एउटी महिलासहित 4 जना युवकलाई पुलिसले पक्राउ गरेपछि तिनीहरू विरुद्ध नाबालिका छात्रालाई अपहरण गरेको मामिला दर्ता गरिएको छ। पक्रा परेकाहरूमा क्रमैले मना हलदार, चन्दन साहनी, लालु यादव र मनोज साहनी सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त छात्रालाई नशालु पदार्थ खुवाएर तस्करी गर्ने तिनीहरूको उद्देश्य रहेको थियो। उक्त घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको हुनसक्ने आशंकामा पुलिसले पक्रा परेका आरोपीहरूसित सोधखोज गरिरहेको छ। पक्रा परेका आरोपीहरूलाई आज अदालतमा पेश गरेर पुलिस हिरासतमा पठाएको छ। स्मरण रहोस्, नन्दिनी राय गरमको छुट्टीमा मयनागढीबाट सिलगढी संलग्न पोरझार इलाकामा आफ्नो मामाको घरमा घुम्न आएकी थिइन्। गत मंगलबार दिउँसो तिनी मामाको घरमा एक्लै थिइन्। यसैको फाइदा उठाएर तिनी घरको देवाल पार गरेर घरबाट निस्केको हुनसक्ने छात्राको परिवारका सदस्यहरूको भनाइ रहेको छ। यसपछि तिनका परिवारका सदस्यहरूले छात्रा निखोज भएकोबारे थानामा एउटा लिखित अभियोग दर्ता गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *