ममता ब्यानर्जीले सिलगढीबाट भीडियो कलको माध्यमद्वारा मृतकका परिवारहरूसित गरिन् कुराकानी

सिलगढी : कुचबिहारमा हिजोदेखि 72 घण्टासम्म राज्य तथा केन्द्रीय स्तरका नेताहरूलाई प्रवेश गर्नमा चुनाउ आयोगले रोक लगाएको छ। यसको साथै चुनाउभन्दा 72 घण्टा अघि नै चुनाउ प्रचारको समय सीमा निर्धारित गरिदिएको छ। यसलाई लिएर तृणमूल नेत्री ममता ब्यानर्जीले आज सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर क्षोभ प्रकट गरिन्। तिनले भनिन्, एमसीसी (मडेल कोड अफ् कन्डक्ट) हाल बीसीसी (बीजेपी कोड अफ् कन्डक्ट) भएको छ। कुचबिहारमा 72 घण्टासम्म प्रवेश निषेध गरिएकोबारे तिनले भनिन्, मलाई रोकेर राख्न सक्दैन। म आज त्यहाँ जान नसकोस्, मृतका परिवारका सदस्यहरूसित भेटघाट गर्न नसकोस् भन्ने उद्देश्य लिएर नै चुनाउ आयोगले उक्त निर्णय लिएको हो। चुनाउ आयोग उक्त निर्णयलाई तिनले अनौठो रहेको बताउँदै आगामी 14 अप्रेलको दिन तिनी मृतकका परिवारका सदस्यहरूसित भेट गर्नको लागि माथाभाङ्गा जाने भएकी छन्। पीडित परिवारका सदस्यहरूको साथमा आफू सदैव रहने बताउँदै चुनाउपछि तिनीहरूलाई आर्थिक सहयोग प्रदान गर्ने तिनले जानकारी गराइन्। ममता ब्यानर्जीले आज पत्रकार सम्मेलन अवधि भीडियो कलको माध्यमद्वारा मृतकहरूमध्ये 2 जनाको परिवारका सदस्यहरूसित कुराकानी गरिन् यसको साथै घटनाबारे थानामा अभियोग दर्ता गर्ने तिनले बताइन्। चुनाउको 72 घण्टा अगावै चुनाउ प्रचार बन्द गर्नुपर्ने चुनाउ आयोगले नयाँ निर्देशिका जारी गरेको छ। चुनाउ आयोगको नयाँ निर्देशिकाबारे कटाक्ष कस्दै तिनले भनिन्, भाजपाले उत्तर बंगालमा आगामी 13 अप्रेलसम्म चुनाउ प्रचार गर्दैछ। तृणमूलका प्रार्थी तथा कार्यकर्ताहरूलाई चुनाउ प्रचार गर्नमा रोक लगाउने उद्देश्य लिएर नै चुनाउ आयोगले उक्त निर्देश जारी गरेको हो भनी तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *