मङपु : आदर्श श्रमिक कल्याण केन्द्रको आयोजनामा आज दोस्रो दिन मङपु जनमैदानमा सम्पन्न खेलकूद प्रतियोगिता अन्तर्गत महिलाहरूमाझ भएको खुल्ला म्याराथान दौड प्रतियोगितामा खरसाङका प्रीति राई प्रथम, गोरूबथानका सबिना राई दोस्रो अनि निमा भुटिया तेस्रो भइन्। विजय प्रतियोगीहरूलाई आजका समारोहका प्रमुख अतिथि सांसद शान्ता छेत्रीको बाहुलीबाट ट्रफी तथा नगद राशि वितरण गरियो।
यस अवसरमा सांसद छेत्रीले बताएअनुसार खेलाडीहरूलाई प्रोत्साहन गराउन राज्य सरकारले पञ्जीकृत रहेको खेलकूद संस्थानहरूलाई 5 लाख रुपियाँ प्रदान गरिरहेको विषयमा जानकारी गराइन्। भोलि बुधबार तेस्रो दिन मङपु जनमैदान झापा नेपाल र दार्जिलिङ एफसीमाझ फुटबल म्याचको आयोजना गरिने भएको छ। उक्त म्याचमा विजय टोलीलाई ट्रफी लगायत 1 लाख अनि पराजित टोलीलाई ट्रफी लगायत 50 हजार नगद राशि प्रदान गरिने आयोजक समितिले जनाएको छ।