मङपुमा कवि रविन्द्रनाथ ठाकुरको 162 औंँ जन्मदिन पालन

मङ्पु: कवि रविन्द्रनाथ ठाकुर चारपल्ट आएर वास बसेको पवित्र भुमि मङपुमा आज तिनको 162 औँ जन्म जयन्ती विविध कार्यक्रम सहित हर्षोल्लासको साथमा पालन गरियो। सूचना एवम् संस्कृतिक विभाग पश्चिम बङ्गाल सरकार अनि राज्यको श्रम कल्याण समितिको संयुक्त आयोजनामा सम्पन्न भएको 162 औँ रविन्द्र जयन्ती समारोहका प्रमुख अतिथि दार्जिलिङका जिल्लापाल एस.पन्नमबालमको बाहुलीबाट सर्वप्रथम विश्वकवि रविन्द्र नाथ ठाकुरको यहाँस्थित प्रतिमामा दीप प्रज्वलन तथा माल्यार्पण गर्नको साथै श्रद्धाञ्जलि अर्पण गरियो। कार्यक्रमको आरम्भमा सुपर्ना ब्लोनले उपस्थित सबै अतिथिहरूलाई न्यानो स्वागत राख्दै आफ्नो स्वागत सम्भाषाण राखिन्। कवि रविन्द्रनाथ ठाकुरको 162 औंँ जन्मदिन समारोहमा दार्जिलिङ, सिलगढी लगायत कोलकत्ताबाट आएका कलाकारहरूले रविन्द्र सङ्गीत अनि रविन्द्र नृत्यहरू प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पारे। पश्चिम बङ्गाल लोकप्रकल्प विभाग मङपुका कलाकार जेशन तामाङले पनि कार्यक्रममा सुन्दर नृत्य प्रस्तुत गरे भने मङ्पु रविन्द्रनाथ सङ्ग्राहलयका केयरटेकर शिशिर रावतले कवि रविन्द्रनाथका सुन्दर कविताहरू घुम्न आउने पर्यटकलाई सुनाएर मन्त्र मुग्ध पारे।


प्रमोता दास गुप्त अनि जीना राईले सञ्चालन गरेको आजको कार्यक्रममा यहाँको लाब्दा बस्ती लिटल एञ्जल स्कुलका साना नानीहरुले रविन्द्र नृत्य खुबै राम्रो ढंगमा प्रस्तुत गरे। समारोहका प्रमुख अतिथि जिल्लापाल एस. पन्नमबालमले रविन्द्रनाथ सङ्ग्राहलयका सम्पूर्ण मरमति कार्य आगामी जून महिना 2022-को अवधिसम्म पूरा भइसक्ने जानकारी गराउँदै पर्यटकहरुको निम्ति दुईवटा गेस्ट हाउस पनि यसै रविन्द्रनाथ सङ्ग्राहालय नजिक बनिसकेको अनि यसको निर्माण कार्य पनि आगामी जून महिनासम्म पुरा गरेपछि शुरु गरिने अवगत गराए। समारोहका विशिष्ट अतिथि राज्यसभा सांसद तथा हिल तृणमूल नेत्री शान्ता छेत्रीले मङ्पुको रविन्द्रभवन हाम्रो धरोहर हो र यसको सुरक्षा हामी सबै मिलेर गर्नुपर्ने बताइन्। सम्पूर्ण अग्रजहरुको जन्मजयन्ती पहिला प्रत्येक स्कुलहरूमा गरिन्थ्यो तर अहिले गरिन छोडिसकेको छ र जिल्लापालले सम्पूर्ण महापुरुषहरुको जन्म जयन्ती प्रत्येक स्कुलमा पालन गर्न अनिवार्य गरिनु पर्ने आदेश दिनुपर्ने तिनले अनुरोध गरिन्। आजको कार्यक्रममा  सिन्कोना बगान निर्देशक डा. सामुएल राई, मङ्पु कोर्टका जज अनि अन्य प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *