मङपुमा भोइस अफ् नाइटिङ्गलको सेमिफाइनल सम्पन्न

मङपु : हाम्रो मङपु राम्रो मङपु अनि मङपु साङ्गीतिक कला एकाईको संयुक्त आयोजनामा सम्पन्न भइरहेको भोइस अफ् नाइटिङ्गलको सेमिफाइनल राउन्ड हिजो मङपु जनमैदानमा रङ्गारङ कार्यक्रमबीच सम्पन्न भयो। मोठ 103 जना गायक-गायिकाहरूलाई लिएर शुरू गरिएको गायन प्रतियोगिताको सेमिफाइनलमा 15 जना प्रतियोगीहरूले आफ्नो प्रस्तुति दिए भने तीमध्ये 10 जना प्रतियोगीलाई फाइनलको निम्ति छनौट गरिएको छ। उक्त प्रतियोगिताको ग्रान्डफिनाले आगामी 14 फरवरीको दिन मङपु जनमैदानमा सम्पन्न हुने भएको छ। बिभोर सिङदन अनि बिदेन प्रधानले सञ्चालन गरेको सेमिफाइनल राउन्डमा गायन प्रतियोगिताको मुख्य निर्णायकहरूमा चर्चित गायक सुरेश कुमार छेत्री, राजेन आले, पदम बराईली, तेजबहादुर पाख्रीन अनि सोमछिरिङ लेप्चा रहेका थिए।


गायन प्रतियोगिताको सेमिफाइनलमा प्रीतम छेत्रीले बाँसुरीमा मिठो धुन प्रस्तुत गरे भने नर्तकी सुशिका थापा र सलोनी लिम्बुले सुन्दर नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध पारिन्। यसैगरी, चर्चित गायक सुरेश कुमारले मिठा-मिठा गीतहरू प्रस्तुत गरे। अर्कोतिर, आयोजक समितिको पक्षबाट गत 7 फरवरीदेखि शुरू भएको विन्टर फेस्टिभल आगामी 14 फरवरीसम्म चल्नेछ। स्मरण रहोस्, भोइस अफ् नाइटिङ्गल गायन प्रतियोगिता स्वर सम्राज्ञी अरुणा लामाको नाममा समर्पण गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *