मणिपुर पैह्रोमा प्राण गुमाउनेका परिवारलाई 2-2 लाख रुपियाँ दिइने, परिवारका एकजना सदस्यलाई सरकारी नोकरी दिइने मुख्यमन्त्रीको घोषणा

दार्जिलिङ: राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीको प्रमुख उपस्थितिमा आज हालै जीटीए चुनाउमा विजय बनेका नवनिर्वाचित सभासदहरूको निम्ति दार्जिलिङको चौरस्तामा शपथ ग्रहण कार्यक्रम सम्पन्न भयो। आजको शपथ ग्रहण समारोहमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा, सतीश पोख्रेल, कल्पना प्रधान, सञ्चवीर सुब्बा, हाम्रो पार्टी-का अध्यक्ष अजय एडवर्स, प्रमोष्कर ब्लोन, हिल टीएमसी-का विनय तामाङ, सुमन गुरूङ लगायत अन्य नवनिर्वाचित सभासदहरूले शपथ ग्रहण गरे। शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री ममता ब्यानर्जीले सर्वप्रथम आफ्नो सम्बोधनमा विजयी बनेका विभिन्न राजनैतिक दल तथा निर्दलीय उम्मेद्वारहरूलाई बधाई दिनको साथै पहाडमा पहिलोपल्ट शान्तिपूर्वक ढङ्गमा जीटीए चुनाउ सम्पन्न भएकोमा खुसी व्यक्त गरिन्। तिनले हालै मणिपुर पैह्रोमा प्राण गुमाउने भारतीय सेनाका जवानहरूको परिवारका प्रत्येक सदस्यहरूलाई राज्य सरकारको तर्फबाट 2-2 लाख रुपियाँ आर्थिक सहयोग साथै परिवारको एकजनालाई सरकारी नोकरी दिने घोषणा गरिन्। तिनले पहाडलाई शान्त राख्न सके यहाँको चौतर्फी विकास भएर जाने बताउँदै दार्जिलिङ, कालेबुङ क्षेत्रमा सम्भावित विकास कार्यहरूको पनि विस्तृत रूपमा चर्चा गरिन्। दार्जिलिङ पहाडलाई विशेष गरेर पर्यटनहरूको निम्ति आकर्षणको केन्द्र बनाउनको लागि थुप्रै परियोजनाहरू लागू गर्न सकिने जुन कुरा राज्य सरकारले आगामी दिनमा कार्यान्वित गर्ने तिनले बताइन्।


यसको साथै पहाडमा थुप्रै रिसोर्सेसहरू रहेकोले गर्दा यहाँका मानिसहरूको निम्ति मूल आयको स्रोत बन्न सक्ने अधिक सम्भावनाहरू छ भन्दै ती विषयहरूमा जीटीए मार्फत् पनि काम गर्न सकिने मुख्यमन्त्री ममता ब्यानर्जीले बताइन्। आजको शपथ ग्रहण समारोहमा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी वाहेक मन्त्री अरूप विश्वास, इन्द्रनील सेन, राज्यसभा सांसद तथा हिल तृणमूल नेत्री शान्ता छेत्री, कालेबुङका विधायक रूदेन सादा लेप्चा, दार्जिलिङ जिल्ला रोगी कल्याण समितिका चेयरम्यान अमरसिंह राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, एमएलएलडीबी-का चेयरम्यान ल्याङसोम तामसाङ, पश्चिम बङ्गालका चिफ सेक्रेटरी एचके द्विवेदी, जलपाईगढी डिभिजनल कमिश्नर एआर वर्द्धन, आईजी मनोज बर्मा (ल एन्ड अर्डर), आईजी डीपी सिंह (नर्थ बेङ्गल), दार्जिलिङका डीआईजी श्रीमती सङ्मित लेप्चा, कालेबुङका जिल्लाशासक श्रीमती आर विमला, दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, दार्जिलिङका एसपी डा. सन्तोष निम्बलकर, कालेबुङका एसपी श्रीमती अपराजिता राई, डा. हर्कबहादुर छेत्री लगायत विभिन्न राजनैतिक पार्टीका समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *