मनपरी बाइक चलाएकोमा प्रतिवाद गर्दा शिक्षकमाथि छुरीले प्राणघातक हमला, पुलिसद्वारा जाँच शुरू

सिलगढी : ट्राफिक नियमको पर्वाह नगरी सडकमा मनपरी बाइक चलाएकोमा प्रतिवाद गर्दा सिलगढीका एकजना शिक्षकलाई छुरीले प्रहार गरेको घटना प्रकाशमा आएको छ। सिलगढीको 15 नम्बर वार्डको उक्त घटनाले पुलिसको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न चिन्ह खडा भएको छ। गत केही दिन अघि पनि एकजना डाक्टरले मनपरी टोटो चलाएकोमा प्रतिवाद गर्दा तिनलाई कुटपीट गरेको थियो भने उक्त घटनामा पछि पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको थियो। यसपल्ट मनपरी सडकमा बाइक हाकेकोमा विरोध गर्दा सिलगढीको समरनगर प्राथमिक स्कुलको टिचर इनचार्जको अनुहार अनि भुँडीमा छुरीले प्रहार गरेको बताइएको छ। घटनाक्रम अनुसार गत राति लेकटाउन निवासी सैकत सरकार केटी साथीलाई सिलगढीको पाकुरतला मोडस्थित घरमा छोड्न गइरहेको समय 15 नम्बर वार्डको कानाईलाल दत्त रोडमा एकजना युवकले मनपरी बाइक चलाइरहेको थियो भने अलिकतिले गर्दा कुनै ठुलो दुर्घटना हुनबाट तिनीहरू जोगिए। यसपछि सैकत सरकारले बाइक राम्ररी चलाउने भन्दा उक्त युवकले अन्य एकजना युवकलाई ल्याएर आफ्नो साथीकै छेउमा स्कुल शिक्षकको भुँडीमा र अनुहारमा छुरीले प्रहार गरेपछि ती दुई युवक घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घाइते अवस्थामा सैकतलाई सिलगढी जिल्ला अस्पताल अनि त्यसपछि त्यहाँबाट नर्सिङहोममा भर्ना गरेपछि आज तिनको अनुहारको सर्जरी गरियो। पीडित शिक्षकले बताएअनुसार मनपरी जताभावी बाइक चलाएको प्रतिवाद गर्दा तिनीहरूले आफूमाथि छुरीले प्रहार गरे। घाइते शिक्षकको बाबुले घटनाबारे सिलगढी पानीट्याङ्की आउटपोस्टमा सुरजीत साहा र सौम्यदीप साहविरुद्ध अभियोग दर्ता गरेको छ। अर्कोतिर, घटनाको जाँच शुरू गरेको पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदीले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *