मतिगढा 2 नम्बर ग्राम पञ्चायतमा पानीको पाइप फुटेपछि गाउँलेहरू समस्यामा, प्रशासनिक लापर्वाहीको आरोप

सिलगढी : मतिगढा 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत न्यू कोलनी निवासीहरू प्रशासनिक लापर्वाहीले गर्दा पिउने पानीको समस्यासित जुझिरहेका छन्। इलाकावासीहरूको आरोपअनुसार न्यू कोलोनी इलाकामा पिउने पानीको पाइप धेरै दिन अघि फुटेकोले यसबारे प्रशासनलाई अवगत गराए तापनि कुनै पहल नगरेकोले प्रतिदिन पानी खेरो गइरहेको छ। यसरी पानी खेरो गएपछि उक्त इलाकामा पिउने पानीको समस्या उत्पन्न भएको छ। यसको साथै उक्त इलाकामा फोहोर-मैलाको थुप्रो जम्मा भएपछि यसको दुर्गन्धले गर्दा स्थानीय मानिसहरूलाई निक्कै समस्या भइरहेको बताइएको छ। स्थानीय मानिसहरूको भनाइ अनुसार गत 8 दिनअघि पिउने पानीको पाइप फुटेपछि पानी खेरो गइरहेको छ। स्थानीय मानिसहरूले दुई-तीन महीनाअघि इलाकाको साफ-सफाईको लागि बीडिओदेखि लिएर प्रशासनिक अधिकारीहरूलाई समेत पत्राचार गरे तापनि हालसम्म समस्याको समाधान भएको छैन। अर्कोतिर, मतिगढा 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पीएचई कार्यालयको पम्प अपरेटर संजीव शीलले पम्प अपरेटर गर्नु आफूहरूको दायित्व रहेको बताउँदै उक्त इलाकाको पाइप फुटेको बारे अधिकारीहरूलाई सूचित गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *