मिरिक: मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षण मिरिक झीलमा चाँडै शिकारा नौका सञ्चालनमा आउने भएको छ। मिरिक नौका घरमा शिकारा नौका आइपुगेकोले आज विभागीय कर्मचारीहरूले मिरिक झीलमा शिकारा नौकामा चढेर यसको परीक्षण गरे। मिरिक झीलमा शिकारा नौकाको सञ्चालन भएपछि पर्यटकहरूले यसको मज्जा लिन पाउने साथै मिरिक पर्यटन केन्द्रको थप आकर्षण बन्ने भएको छ। मिरिक पर्यटन केन्द्र नौका घरका इन्चार्ज सुनिल राईले बताए अनुसार मिरिक झीलमा चाँडै नै शिकारा नौका सञ्चालनमा आएपछि पर्यटकहरूले मिरिक झीलमा यसमा सवारी गरेर दृश्यावलोकन गर्न सक्नेछन्। तिनले शिकारा नौकाको साथमा मिरिक नौका घरमा मोटरले चल्ने उद्धार नौका पनि आइसकेको बताए। कोरोना संक्रमणले गर्दा यहाँको पर्यटन उद्योगलाई धेरै प्रभाव पारे तापनि हाल स्थिति साम्य बन्दै गएकोले आगामी मार्च अप्रेल महिनादेखि मिरिक पर्यटन केन्द्रमा पर्यटन मौसम शुरू हुने भएकोले धेरै पर्यटकहरूको आगमन हुने सम्भावनालाई ध्यानमा राखेर मिरिक झीलमा शिकारा नौका ल्याइएको तिनले बताए। मिरिक झीलमा हाल 7 वटा चार सीटको अनि दुईवटा दुई सिट भएको नौका सञ्चालन भइरहेको तिनले जानकारी गराउँदै मिरिक झीलमा नौकामा चढेर सवार गर्न चाहने पर्यटकहरूलाई कुनै प्रकारको समस्या हुन नदिन विभागीय कर्मचारीहरूले कार्य गरिरहेको पनि बताए।
