मिरिकमा कोभिड 19-को भ्याक्सिन लगाइने कार्य शुरू

मिरिक: मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा आजदेखि कोभिड 19-को भ्याक्सिन लगाइने कार्य शुरू गरियो। आज मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रका स्वास्थ कर्मी, आशा कर्मी, आगनवाडी कर्मीहरूलाई कोरोनाको भ्याक्सिन खोप लगाएको मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका बीएमओएच डाक्टर टाँशी लामाले बताए। तिनले सरकारी सबै नियम पालन गरेर भ्याक्सिनेसन गरिएको जानकारी गराउँदै दिनमा 100 जनालाई भ्याक्सिनेसन गरिने लक्ष्य राखिएको बताए। प्रथम चरणमा 487 जनालाई सबै प्रकारको नियम पालन गरेर भ्याक्सिन खोप लगाइने तिनले जानकारी दिए। भारतमा गत 16 जनवरीदेखि कोभिड-19 को भ्याक्सिन लगाइने कार्य शुरू भएपछि आजदेखि मिरिकमा पनि शुरू गरिएको छ। लामो समयको प्रतिक्षा पछि कोरोना भ्याक्सिनको खोप लगाउन पाउँदा धेरै राहत अनुभाव गरेको खोप लगाइनेहरूले बताए। अर्कोतिर, आज ‘चोखेर आलो’ कार्यक्रम अन्तर्गत मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रमा 400 भन्दा अधिकलाई सित्थैमा चश्मा वितरण गरिएको मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका बीएमओएच डा. टाँशी लामाले जानकारी गराए। यस अवसरमा मिरिक महकुमा अधिकारी अश्विनी कुमार रोय, डीएमडीसी मृदुल श्रीमणी, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, रोगी कल्याण समितिका अध्यक्ष अनिल छेत्री आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *