मिरिक महकुमा शासकले गरे सर्वदलीय बैठक

मिरिक: मिरिक महकुमा शासक सुदीप्त देवनाथले आज मिरिक महकुमा शासक कार्यालयमा सर्वदलीय बैठक गरे। बैठकमा आगामी मिरिक नगरपालिका चुनाउलाई केन्द्र गरेर जारी गरिएको उम्मेदवार आरक्षण सूचीबारे मिरिक महकुमा शासक सुदीप्त देवनाथले जानकारी गराउँदै यदि कसैलाई उक्त सूचीप्रति केही आपत्ति रहेको खण्डमा  आगामी 7 अप्रेलसम्म लिखित जानकारी गराउन सक्ने बताए। तिनले वार्डहरूमा सीट आरक्षणको नियमहरूबारे विस्तृत जानकारी गराउनको साथै कुन प्रकारले आरक्षण सूची तयार पारिन्छ यस बिषयमा पनि विस्तारपूर्वक बताए। नगरपालिका चुनाउ घोषणा भएपछि सबैलाई अनुशासनमा रहेर शान्तिपूर्ण ढंगमा नगरपालिका चुनाउमा सहभागिता जनाइदिने सम्पूर्ण राजनैतिक दलका प्रतिनिधिहरूलाई तिनले अनुरोध गरे। बैठकमा मिरिक महकुमा शासक सुदीप्त देवनाथ, मिरिक महकुमा डीएमडीसी मृदुल श्रीमणी लगायत भाजपा, तृणमूल कङ्ग्रेस, गोरामुमो, भागोप्रमो, हाम्रो पार्टी आदि पार्टीका प्रतिनिधिहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भाजपा जिल्ला सचिव किशोर सिंह, गोरामुमो ब्राञ्च अध्यक्ष महेन्द्र खड्का अनि हाम्रो पार्टी नारी प्रकोष्ट संयोजक डिकी याङजोङले महकुमा शासकसित आज बैठक भएको अनि बैठकमा रोष्टरबारे चर्चा भएको जानकारी दिँदै उपस्थित सबै दलका प्रतिनिधिहरूले मिरिक नगरपालिका चुनाउ शान्तिपूर्ण गराउने आव्हान गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *