मिरिकमा जय हिन्द सार्वजनिक भवनको शिलान्यास

मिरिक (निसं): उत्तर बंगाल विकास विभाग साथै जीटीएको संयुक्त पहलमा आज जय हिन्द सार्वजनिक भवनको प्रमुख अतिथि एलबी राईले शिलान्यास गरे। कार्यक्रममा मिरिक नगरपालिकाका अध्यक्ष एलबी राई लगायत थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राई, मिरिक महकुमाका जनसम्पर्क अधिकारी विवेक गोले, एनबीडीडी-का सह अभियन्ता आशिष थापा, मिरिक व्यावसाय संगठनका अध्यक्ष सौराज गोले आदि उपस्थित थिए। उक्त भवन 2 करोड, 77 लाख 50 हजार 633 रूपियाँको लागतमा निर्माण हुने बताइएको छ। कार्यक्रमपछि पत्रकारहरूसितको कुराकानीमा एलबी राईले भने, जय हिन्द सार्वजनिक भवन तराई क्षेत्रमा निर्माण भइसकेको छ। यसरी नै मिरिकमा पनि यस प्रकारको सार्वजनिक भवन निर्माण हुनु भनेको धेरै खुशीको कुरो हो। अब यो भवन निर्माण भएपछि विशेष गरेर यहाँका स्वनिर्भर समुहका सदस्यहरूलाई तालिमहरू गराउनु धेरै सुविधा हुने छ। यसरी नै विभिन्न प्रकारका कार्यक्रमहरू पनि यो भवनमा गर्न सकिन्छ। यसको सम्पूर्ण मिरिकवासीको पक्षबाट राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी अनि जीटीएका मुख्य कार्यपाल अनित थापाप्रति तिनले आभार प्रकट गरे।



अर्कोतिर, थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राईले जीटीए मुख्य कार्यपाल अनित थापा अनि मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गर्दै भने, मिरिकवासीको निम्ति उक्त भवनको धेरै खाँचो थियो। आज हामीले भवनको शिलान्यास गर्न सफल भयौ। उक्त भवन दुई तलाको हुनेछ, जसमा माथिल्लो तलामा प्रेक्षागृह अनि तल्लो तलामा स्वनिर्भर बन्न चाहने दिदी-बहिनी अनि दाजु-भाइहरूको निम्ति उपयोगी हुनेछ। भवनको आज शिलान्यास भएपछि अब भोलीदेखि नै निर्माण कार्य पनि शुरू हुने सभासद मिलेश राईले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *