मिरिकमा नयाँ साहित्यिक संस्था ‘इबरा साहित्य प्रतिष्ठान’ गठन

मिरिक : मिरिक महकुमाको निम्न तराई क्षेत्रका साहित्य अनुरागीहरूलाई लिएर नयाँ साहित्यिक संस्था इबरा साहित्य प्रतिष्ठान गठन गरियो। हिलेझोडाको सार्वजनिक भवनमा डा. जेम्स विश्वको अध्यक्षता मनोहर शर्माको प्रमुख आतिथ्य र अर्पण राईको सञ्चालनमा सम्पन्न पहिलो चरणको कार्यक्रममा संस्थाको नामकरणबारे चर्चा गरियो। मनोहर शर्माले भारतीय नेपाली साहित्यको शिखर पुरुष इन्द्र बहादुर राईको नेपाली साहित्यप्रतिको योगदानलाई ध्यानमा राख्दै तिनको नाममा संस्थाको नामकरण गर्नुपर्ने सुझाउ राखेपछि सबैले सहमति जनाउँदै संस्थाको नाम इबरा साहित्य प्रतिष्ठान राखियो। सभाले कार्यकारी समिति पनि गठन गर्यो भने उक्त समितिमा अध्यक्ष डा जेम्स विश्व, उपाध्यक्ष कमल शर्मा, महासचिव मनोहर शर्मा, सहसचिव अर्पण राई, कोषाध्यक्ष रितिका राई र प्रणु प्रधान, प्रवक्ता विमल शर्मा र रोहित तामाङ, सल्लाहकारहरूमा अर्जुन थापा, केपी शर्मा, किरण राई, भुपाल गोले, कैलाश खवास, अरुण खवास आदिलाई चयन गरियो। कार्यकारी सदस्यहरूमा रामकृष्ण छेत्री, विवेक दर्जी, अलिसा राई, अभिषेक थापा लगायत तीसजनाको समिति गठन गरियो। तराईलाई साहित्यिक क्षेत्रमा अघि बढाउन विविध क्रियाकलाप गरिने सभामा निर्णय लिइएको बताइएको छ। आगामी दिनहरूमा तराईमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र युगपुरुष साहित्यकार इन्द्रबहादुर राईको सालिग निर्माण गर्ने काम पनि प्रतिष्ठानले गर्ने निर्णय लिएको छ। दोस्रो चरणको कवि गोष्ठी कार्यक्रममा विवेक दर्जी, रामकृष्ण छेत्री, बिमल शर्मा,अर्पण राई, किरण राई, कमल शर्मा, जेम्स विश्व आदिले स्वरचित कविताहरू वाचन गरे। प्रतिष्ठानले प्रत्येक महिनाको प्रथम शनिबार साहित्यिक गोष्ठी गर्ने निर्णय लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *