मिरिकमा पत्रकारिता अनि फोटोग्राफीमाथि एकदिने कार्यशाला

मिरिक: मिरिक प्रेस क्लबको आयोजनामा आज मिरिकमा पत्रकारिता अनि फोटोग्राफीमाथि एकदिने कार्यशाला सम्पन्न भयो। मिरिक प्रेस क्लबका अध्यक्ष दीप मिलन प्रधानको अध्यक्षतामा अनि प्रेस क्लबका सहसचिव मनोहर शर्माको सञ्चालनमा सञ्चालित कार्यक्रममा पत्रकारितामाथि पत्रकार एवम् सिलगढी जर्नलिष्ट क्लबका अध्यक्ष प्रमोद गिरी, अङ्ग्रेजी दैनिकका पत्रकार आशिष प्रधान, पत्रकार मोहन लामा, पत्रकार विवेक छेत्रीले आजसम्म आफुहरुले गरेको पत्रकारिताको आधारमा आफ्नो महत्वपूर्ण अनुभवहरु साझा गर्दै समाचार सम्बन्धी विभिन्न तथ्यहरू पावर पोइन्टमार्फत प्रोजेक्टरमा साझा गरे। उपस्थित प्रशिक्षार्थीहरुको मनका प्रश्नहरू पनि तिनीहरूले समाधान गरे। तिनीहरूले मिरिक प्रेस क्लबको यो पहलको निम्ति क्लबलाई बधाई टक्राउँदै वर्तमान समयमा युवाहरुमा पत्रकारिताको क्रेज बढे तापनि सही पत्रकारिता कसरी गर्ने भन्ने विषयमा आजको कार्यक्रमले छर्लङ्ग पारेको बताए। फोटोग्राफी विषयमा मिरिकका फोटोग्राफर दिब्यदर्शी छेत्रीले प्रशिक्षण दिए। आजको यस कार्यक्रममा मिरिक प्रेस क्लबका संरक्षक दधिराम घिमिरे, माधव बुढाथोकी, समाजसेवी कृष्ण छेत्री, क्लबका कोषाध्यक्ष बालकृष्ण शर्मा, मिरिकका पत्रकार आश्विनी तामाङ आदिको उपस्थिति रहेको थियो। पत्रकारिता र फोटोग्राफीमा चासो राख्ने 20 भन्दा अधिक युवा युवतीहरुले यस प्रशिक्षण कार्यक्रममा अंश ग्रहण गरेका थिए। कार्यक्रमको अन्तमा प्रशिक्षकहरुलाई मिरिक प्रेस क्लबको पक्षबाट स्मृति चिन्ह अनि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *